समाज

पहिरो पीडितलाई रेडक्रसको राहत

ओखलढुंगा– ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत प्रदान गरेको छ। २०७२ को भूकम्पबाट घरमाथिको जमिन धाँजा फाटेको स्थानका पहिरोको त्रासले गाउँ छाडेका विस्थापित २० परिवारलाई रेडक्रस सोसाइटी ओखलढुंगा शाखाले राहत सामग्री सहयोग गरेको हो। 

मोलुङ गाउँपालिका–३ साविक हर्कपुरको केराबारीका स्थानीय २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन्। सुरक्षित बसोबासका लागि ठाँउ सरेकाहरुलाई लत्ताकपडा, भाँडाकुडा सहितको गैरखाद्य सामाग्रीको प्याकेज सहयोग गरिएको रेडक्रस जिल्ला सभापति सुमन राजभण्डारीले बताए। प्याकेजमा बाल्टीन, जग, डाडु, पनिउँ, थाल, कचौरा सहितका भाँडा सेट र कम्बल, त्रिपाल लगायतका सामाग्री दिइएको हो। 

प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो। पहिरोबाट विस्थापित सबै परिवारलाई एकिकृत बस्तीमा राखिने सांसद सुनुवारले बताएका छन्। एकीकृत बस्तीलाई नमूनाका रुपमा विकास गर्ने सांसद सुनुवारको भनाई छ। राहत पाएपछि स्थानीय पहिरो पीडित खुसी भएका छन्।

प्रकाशित: ५ श्रावण २०७६ ०९:३५ आइतबार

पहिरो_पीडित रेडक्रस राहत ओखलढुंगा