समाज

हेटौंडा–काठमाडौं सडक सञ्चालन

हेटाैंडा– भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेसलाई काठमाडौंसँग जोड्ने छोटो मार्ग हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। १० दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो।

इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। पानी पर्ने क्रम जारीनै रहेकाले सजगतासहित बाटो सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए।

‘फेरि पनि पहिरो जान सक्छ, हामीले त्यसका लागि पनि सावधानी अपनाएका छौं, त्यसका लागि केही डोजर तयारी अवस्थामा छन्,' उनले भने। पहिरोका कारण यो मार्ग अवरुद्ध हुँदा लामो मार्गका रुपमा रहेको त्रिभुवन राजपथको सडक खण्डबाट सवारी आवतजावत गरिरहेका थिए। रासस

प्रकाशित: ५ श्रावण २०७६ ०७:२० आइतबार

भारी_वर्षा पहिरो अवरुद्ध