समाज

सूत्र कार्यान्वयनमा स्थानीय तह कमजोर

खोटाङ – खोटाङका स्थानीय तहमा स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को कार्यान्वयन पक्ष कमजोर देखिएको छ। अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) अनुसार आर्थिक वर्ष २०७६/०७७ को बजेट ल्याउनका लागि पत्राचार गरे पनि अधिकांश स्थानीय तहले सोअनुसार बजेट ल्याउन नसकेको पाइएको छ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले असार ३१ गतेभित्र वजेट पारित गरे पनि सूत्रअनुसार कमै स्थानीय तहले मात्र बजेट ल्याएका छन्। स्थानीय सरकारको बजेटलाई एउटै प्रणालीमा निर्माण गर्ने, लेखा राख्ने तथा प्रतिवेदन निर्माण गर्दै पारदर्शीता कायम गर्नका लागि मन्त्रालयले सुत्र अनुसार बजेट निर्माण गर्न पत्राचार गरेको थियो। सो पत्रअनुसार हरेक स्थानीय तहले सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा)ले उपलब्ध गराएको ‘युजर नेम’ र ‘पासवर्ड’ प्रयोग गरेर आफ्नो बजेट सूत्रअनुसार अनलाइनमा इन्ट्री गर्नुपर्ने हुन्छ। सूत्रअनुसार बजेट तयार पारेर अनुमोदन गर्नु पर्ने भए पनि कतिपय स्थानीय तहको बजेट शीर्षकअनुसार बाँडफाँट गर्न बाँकी देखिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय खोटाङका प्रमुख लालबहादुर केसीले बताए। सूत्र कार्यान्वयनले कतिपय स्थानीय तहमा एकमुष्ट रकम विनियोजन गरेर तजबिजीमा खर्च गर्ने प्रवृृत्ति नियन्त्रण हुने अपेक्षा गरिएको छ।

मन्त्रालयका पत्रानुसार जिल्लाको ऐंसेलुखर्क गाउँपालिका सूत्रनुसार बजेट कार्यान्वयनमा ल्याउन जिल्लामै अगाडि देखिएको छ। गत असार २७ गते बजेट पास गरेको सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि नै सूत्रानुसार बजेट ल्याउने अभ्यास गरेको सो गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए। अध्यक्ष प्रदीप राईका अनुसार खोटेहाङ गाउँपालिकाको बजेट पनि सूत्रमा राख्ने काम सकिएको छ। यस्तै, असार १९ गते बजेट अनुमोदन गराएको साकेला गाउँपालिकाको पनि सूत्रअनुसार बजेट इन्ट्री गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ। साकेलाको सशर्त बाहेकको बजेट सूत्रमा राख्ने काम सकिएको प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए।

असार ३० गते बजेट पास गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, असार ३१ गते बजेट पास गरेको हलेसी तुवाचुङ नगरपालिका, असार १० गते बजेट पास गरेको केपीलासगढी गाउँपालिका, असार १६ गते बजेट पास गराएको रावाबेंसी गाउँपालिका, असार १५ गते बजेट अनुमोदन गराएको दिप्रुङ चुईचुम्मा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र असार ३० गते बजेट बराहपोखरी गाउँपालिकाले पनि आफ्नो बजेटलाई सूत्रमा ढालेर राख्ने काम गरिरहेका छन्। तर, उनी सुत्रानुसार बजेट प्रस्तुत गर्न र अनुमोदन गराउन पछि परेका छन्। ‘बजेटलाई सूत्रानुसार इन्ट्री गर्ने काम भइरहेको छ,’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले भने, ‘सूत्रमा राख्ने कामलाई अलि समय लाग्ने रहेछ।’ दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले सूत्रमा इन्ट्री नगरे पनि हालसम्म सूत्रकै ढाँचामा बजेट ल्याइरहेको बताए। ‘हामीले सूत्रकै फर्मेटमा बजेट ल्याइरहेका छौँ,’ राईले भने, ‘अब सूत्रमा पोष्ट गर्न मात्र बाँकी छ।’स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली

प्रकाशित: ५ श्रावण २०७६ ०१:३४ आइतबार

स्थानीय_तह स्थानीय_सञ्चित_कोष_व्यवस्थापन_प्रणाली