समाज

बाढी प्रभावित बस्तीमा स्वास्थ्य परीक्षण गर्दै डा. केसी (फाेटाे फिचर)

रौतहटको इशनाथ नगरपालिकाको बन्जरहामा शुक्रवार विरामीहरुको स्वास्थ्य परिक्षण गर्दै डा. गोविन्द केसी। तस्वीरः मदन/नागरिक

रौतहट–वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसीले बाढी प्रभावित बस्ति मै पुगेर निशुल्क स्वास्थ्य परीक्षण गरेका छन्। भारतीय बाँधका कारण वर्षा र बाढीको पानीको निकास नभएर सवै भन्दा बढी क्षति र विस्थापित भएका रौतहटको इशनाथ नगरपालिका १ बन्जरहामा डा.केसीले बाढीबाट प्रभावित पीडितहरुको स्वास्थ्य परीक्षण गरेका हुन्।

बन्जरहा गाउँको चारैतिरबाट बाढीको पानी पसेर गाउँको निकास नै बन्द भएको विभिन्न सञ्चार माध्यममा समाचार सुनेर राजधानीबाट प्रभावित बस्तिमा पुगेको डाक्टर केसिले बताए।  विनाशकारी बाढीको डुवानमा रहेका इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै गएको देखिएपछि शुक्रवार बिहानै रौतहट सदरमुकाम गौरबाट औषधि, कपडालगायतका राहत सामग्री लिएर बस्तीमा आइपुगेकाे डा. केसीले बताए। बन्जरहाको स्थानीय स्वास्थ्य चौकीमा शिविर खडा गरी त्यहाँ आउने विरामीहरुको स्वास्थ्य परीक्षण गरेका छन्।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका विरामीहरुको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधि वितरण गरिएकाे छ। स्थानीय स्वास्थ्यकर्मीहरुको सहायतामा बन्जरहाका बाढीबाट प्रभावित भएर विरामी भएकाहरु स्वस्फूर्त रुपमा आएर डा. केसीसँग स्वास्थ्य परीक्षण गराएको स्थानीय गृसनन्दन सिंहले बताए।

बाढी आएको शुक्रवार आठौं दिनसम्म जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिबाट स्वास्थ्य परीक्षण सम्बन्धी कुनै क्याम्प संचालन नगरेको अकस्मात डा. केसी आएर परिक्षण सुरु गर्दा विरामीहरुको चाप बढेको इशनाथ कार्यपालिका वडाध्यक्ष विगु साहले बताए।

गोविन्द_केसी स्वास्थ्य_परिक्षण