समाज

डेंगु नियन्त्रण अभियानः डेंगुका बिरामी अझै उस्तै, बिपीमा सकियो परीक्षण कीट

डेंगु प्रकोप घोषणा भएपछि लार्भा नष्ट अभियान अनुगमन गर्न पुगेका प्रदेश सभामुख, मन्त्रीलगायत। फाइल तस्बिरः नागरिक

धरान– तीन महिनाअघि धरानमा देखापरेको डेंगुको प्रकोप अझै नियन्त्रण आइसकेको छैन। तर, डेंगु नियन्त्रणको ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान भने सुस्ताएको छ।

वर्षा सुरु भएर डेंगु नियन्त्रणको अभियान सुस्ताएसँगै डेंगुका बिरामी संख्या पनि पुनः बढ्न थालेको छ। यही समयमा भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क परीक्षणका लागि डेंगु कीट सकिएको छ। करिब एक सातादेखि उच्च ज्वरो आएर उपचारको लागि प्रतिष्ठान पुगेका बिरामी  बाहिर निजी ल्याबमा महँगो शुल्क तिरेर डेंगु परीक्षण गराउन बाध्य छन्। ‘मलाई त फाइदा नै भएको छ, तर संवेदनाको पनि कुरा हो। बिपीमा १ रुपैयाँमा हुने टेष्ट बाहिर महँगोमा गर्नुपरिरहेको छ,’ एक ल्याब सञ्चालकले नागरिकसँग भने, ‘कीट छैन भन्दै बाहिर पठाउँछन्, प्रदेश सरकारले ८० लाख दिएको भन्ने थियो, के भयो ?’ उनका अनुसार डेंगु बिरामीको संख्या अहिले पनि उस्तै छ।

प्रतिष्ठानका चिकित्सकहरू पनि नियन्त्रणको अभियान चलाउँदा एक सातासम्म डेंगुका बिरामीको संख्या घटेको थियो। दैनिक एक वा दुई जनाको दरमा मात्र बिरामी देखिएर नियन्त्रण उन्मुख भएको डेंगु पछिल्लो दिनमा पुनः बढ्न थालेको प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.लोकबहादुर श्रेष्ठले बताए। ‘लार्भा सर्च एण्ड डिस्ट्रोयको अभियान हुँदा नियन्त्रणमा आएको जस्तो देखिन्थ्यो। त्यो बेला त दिनमा १, २ वटा मात्र केस आयो,’डा.श्रेष्ठले भने,‘वर्षाले गर्दा पनि होला, अभियान रोकियो र फेरि बढेको जस्तो देखिएको छ। हामीसँग डेंगु कीट सकिएको ४, ५ दिन भयो।’

धरानमा डेंगु पोजेटिभ भएकी एक महिलाको केही दिनअघि उपचारको क्रममा निधन भएको थियो। अहिले पनि उच्च ज्वरोका बिरामीहरू उपचारमा आउने क्रम जारी रहेको प्रतिष्ठानको आकस्मिक कक्षका एक चिकित्सकले बताए। निरन्तर ३ दिन उच्च ज्वरो आएका बिरामीलाई केही दिनदेखि डेंगु परीक्षण गराउन बाहिर पठाउन बाध्य भएको ती चिकित्सक बताउँछन्। ‘यहाँ कीट सकिएको छ, त्यसैले बाहिर पठाउनु हाम्रो बाध्यता हो,’ ती चिकित्सकले भने। डेंगु कीट सकिएको बारेमा जानकारीसहित प्रदेश स्वास्थ्य निर्देशनालयमा माग गरिएको प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले बताए। ‘आवश्यक कागजातहरू पठाएका छौं, चाँडै आउनुपर्ने हो,’ उनले भने।

प्रदेश स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेल भने माग गर्ने बित्तिकै डेंगु कीट दिन नसकिने बताउँछन्। पहिला लगेको कीट के भयो भनेर रिपोर्ट नपठाएसम्म प्रतिष्ठानलाई दिन नसकिने उनले बताए। ‘माग्ने बित्तिकै दिन सकिँदैन। पहिला लगेको कीट के भयो ? त्यसको रिपोर्ट चाहिन्छ,’ डोटेलले भने, ‘बिपीले ११ सय बिरामीको नाम पठायो। तर, क –कसलाई टेष्ट गरेको हो ? कसलाई नेगेटिभ र कसलाई पोजेटिभ आएको हो, भनेर पनि दिनुपर्छ।’ धरान डेंगु प्रभावित क्षेत्र भएकोले ज्वरो आएका बिरामीलाई डेंगुको शंका सुरुमा भए पनि एकैचोटी परीक्षण गरिहाल्नु नपर्ने डोटेल बताउँछन्। ज्वरो धेरै आएको र प्लेटलेट १ लाख कम भएकोलाई मात्र टेष्ट गर्न दिएको निर्देशन पालना नहुँदा कीट अभाव भएको उनको भनाइ छ। ‘त्यसो नगरी ज्वरो आएको सबैलाई टेष्ट गर्ने हो भने त फ्याक्ट्री नै राखे पनि पुग्दैन,’ उनले भने।

प्रकोप क्षेत्र घोषणा भएपछि प्रदेश सरकारको निर्देशनबमोजिम धरान उपमहानगरले असार पहिलो साता एक साताभित्र नियन्त्रण गर्ने कार्ययोजना बनाएर ‘सर्च एण्ड डिस्ट्रोय’ थालेको थियो। एक साता तीव्र रुपमा धरानमा अभियान चल्यो। वर्षा सुरु भएपछि लामखुट्टेको लार्भा नष्ट गर्ने  अभियान थामियो।

अहिले पनि वर्षा हुँदै र थामिँदै गरिरहेको छ। यसले डेंगुको जोखिम झन् बढाउने भएकोले प्रत्येक नगरवासी आफै सचेत हुनुपर्ने ¥यापिड रेस्पोन्स टिमका सदस्य एवं बिपी प्रतिष्ठानका चिकित्सक डा.विजय खनाल बताउँछन्। ‘डेंगु बिरामी पहिला जस्तो छैन, तर आउने क्रम जारी नै छ,’उनले भने,‘मनसुनले पानी पर्ने, रोकिने भएकोले बढ्न सक्ने सम्भावना छ, अब झन् सबै सचेत हुनुपर्छ। घर र वरिपरि पानी जमिएको भए पोखाउनुपर्छ।’ डा. खनाल मनसुन चलिरहँदा पनि लार्भा नष्ट अभियान जारी राख्नुपर्ने बताउँछन्। साथै, भाइरसको टाइप पनि पुनः जाँच गर्नुपर्ने अवस्था आएको उनले बताए।

¥यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राई उपमहानगरपालिका, स्वास्थ्य कार्यालय र अस्पताल सबैले सजगता लिनुपर्ने बताउँछन्। ‘कहीँ न कहीँ ग्याप भयो, कमी कमजोरी भएर नै हो, नियन्त्रणमा आएको छैन,’ उनले भने,‘पहिला जस्तो मानिस आतंकित छैनन्। डेंगुलाई सामान्यरुपमा लिएका छन्। यो राम्रो पक्ष पनि हो, तर घातक पनि हुन्छ।’ धरानमा अहिले डेंगुलाई सामान्यरुपमा लिएर ज्वरो आउँदा पनि घरमा नै बसेर सिटामोल खाने गरेका छन्। यसले स्वास्थ्यमा जोखिम बढाउने भन्दै राईले चिकित्सकको सल्लाहअनुसार मात्र औषधि उपचार गर्न सुझाव दिन्छन्। ‘मान्छेहरू डेंगु भन्दै ज्वरो आउँदा पनि घरैमा बसेर सिटामोल खाइरहेका छन्, यो स्वास्थ्यका लागि घातक बन्न सक्छ। डेंगु भएको एक जनाले त ज्यानै गुमाइसकेका छन्,’उनले भने।

कहाँ गयो प्रदेशको ८० लाख ?
प्रि–मनसुनमा धरानबाट सुरु भएको डेंगुको प्रकोप फैलँदै मोरङ र झापामा पनि देखिए पनि प्रदेश सरकार पनि गम्भीर बनेको थियो। डेंगु नियन्त्रण र उपचारका लागि भन्दै सरकारले ८० लाख रुपैयाँ विनियोजन  गरेको थियो। धरानमा आयोजना भएको जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा  प्रदेशका मन्त्रीहरूले ८० लाख बजेट विनियोजन गरिएको र उपचार पनि निःशुल्क गराइने आश्वासन दिएका थिए। तर, बिरामीले निःशुल्क उपचार पाउन सकेनन्। उल्टै बिपी प्रतिष्ठानमा कीट सकिएको भन्दै बाहिर निजीमा महँगो शुल्क तिर्न बाध्य छन्। डेंगुको लागि छुट्याएको ८० लाख कहाँ गयो ? सामाजिक सञ्जालमा चासो राख्दै सर्वसाधारणले प्रदेश र स्थानीय सरकारले पनि आलोचना गरिरहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशक डोटेलका अनुसार प्रदेश सरकारले ८० लाख विनियोजन गरेको बताए पनि ४५ लाख बिपी प्रतिष्ठानलाई दिइएको छ। यो रकम भेण्टिलेटर खरिदका लागि उपलब्ध गराइएको हो। त्यसबाहेक सुनसरी, मोरङ र झापामा लार्भा नष्ट अभियानको लागि ५ लाख हाराहारीमा बजेट दिइएको पनि उनले बताए। ‘प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट ४५ लाख बिपीलाई भेण्टिलेटर खरिद गर्न दिएका छौं, ५ लाख जति सुनसरी, मोरङ र झापामा नियन्त्रण अभियान खर्च भएको छ,’ उनले भने।

प्रकाशित: ३ श्रावण २०७६ १२:२५ शुक्रबार

डेंगु बिरामी