समाज

रोजगारीको प्रलोभनमा भारततर्फ लैजाँदै गरेका ११ जनाको उद्धार, ३ जना पक्राउ

काठमाडाैं– रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनालाई प्रहरीले उद्धार गरेको छ। मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति उद्धार गरेको हो।

उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न रहेका ३ जना अभियुक्तलाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लैजादै गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ।

 

प्रकाशित: ३ श्रावण २०७६ १२:०५ शुक्रबार

रोजगारी भारत उद्दार