समाज

बाजुरामा जीप दुर्घटना, दुईको मृत्यु

बाजुरा - बाजुरा र कालिकोटको सीमा क्षेत्र नजिकै ज्रपाली भन्ने स्थानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिकाको पीलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको क १ ज २१ नम्बरको जिप ज्रपालीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा  जीप चालक रमेश बोगटी, मुगु जिल्ला घर भएका यात्रु रामबहादुर शाही रहेका छन् । कर्णाली करिडोरको बाजुरा कालिकोट क्षेत्रको ज्रपालीको उकालीमा चिप्लीएर दुर्घटना भएको हुन सक्ने जगन्नाथ गाउँपालिकाका प्रवक्ता डबल विकले बताए।

आकाशे पानीले सडक चिप्लो हुनुका साथै उकालो भएकोले चढ्न नसकी चिप्लिएर दुर्घटना भएकाे प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बिहान साढे ७ बजेतिर दुर्घटना भएको जीपमा १३ जना सवार रहेका थिए ।

११ जना घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते सबैलाई हेलिकप्टर मार्फत उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते हुनेमा जगन्नाथ गाउँपालिका ५ गोत्रीका टक्क ल्वार, सोही गाउँका अम्मकला ल्वार, महेश्वरी ल्वार, जनु ल्वार, त्यसैगरी हिमाली गाउँपालिका लालवीर चदारा सहीत रहेका छन् । ती मध्ये टक्क ल्वार, अम्मकला ल्वारको अवस्था गम्भीर रहेको छ । घाइते बाँकी चार जनाको नाम खुल्न नसकेको गाउँपालिका प्रवक्ता विकले बताए।

प्रकाशित: ३ श्रावण २०७६ ०५:२९ शुक्रबार

दुर्घटना मृत्यु