समाज

अमरगढी ६ को कार्यालयमा तालाबन्दी

डडेल्धुरा– स्थानीय वडा सरकार एकलौटी रुपमा सञ्चालन हुँदै आएको भन्दै अमरगढी नगरपालिका वडा नं. ६ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयले स्थानीयको सहभागितामा गर्नुपर्ने कामहरु मनोमानी ढङ्गले गरिँदै आएको भन्दै वडा वासीले बिहिबार वडा कार्यालयमा ताला लगाएका हुन्। 

वडा कार्यालयमा योजना निर्माण गरिँदादेखि कार्यालय सहयोगी राख्दासम्म अध्यक्ष लगायत निर्वाचित वडा सदस्यहरुले मनोमानी ढङ्गले राखेको जनाउँदै वडावासीले कार्यालयमा तालाबन्दी गरेको जनाएका छन्। 

आर्थिक बर्ष २०७६/२०७६ का भौतिक पूर्वाधारका योजनाहरुमा वडावासी लाई कुनै जानकारी नै नदिई जनप्रतिनिधीहरुले दुरुपयोग गरेको, अमरगढी नगरपालिकाले वितरण गरेका सोलार बत्ति आफूखुसी जडान गरेको लगायतका ६ वडा बुँदा उल्लेख गर्दै वडा वासीले तालाबन्दी गरेको स्थानीय केबी ताम्राकारले बताए। 

जनप्रतिनिधी कार्यालयमा नभेटिने, वडामा फोहोर व्यवस्थापन हुन नसकेको र कार्यालय सहयोगी राख्दा समेत विवाद भएकाले वडा वासीका कुनै कुरा नै नसुन्ने गरी वडा कार्यालयले काम गर्दै गएकाले तालाबन्दी गर्न बाध्य भएको वडा वासीको भनाई छ। 

वडावासी केही युवाहरुले झुटो आरोप लगाई कार्यालयमा तालाबन्दी गरेको वडा अध्यक्ष गोबिन्दराज भट्टको भनाई छ। दुई वटा सोलार प्राप्त भएकोमा वडा नं. ६ का दुई वडा बस्ती छचोडा र दुमडा गाउमा रहेका मन्दिरमा एक÷एक जडान गरेको उनले बताए। बरु सोलार बत्तिका लागि वडाबाट आवश्यक रकम विनियोजन गरी जडान गर्ने पक्षमा रहेको वडा अध्यक्ष भट्टको भनाई छ। वडा भरीमा दुई जना लाई कम्प्युटर तालिममा पठाउन भनिए पछि सबैको घर घर सम्म पुग्ने समय नभएकाले दुई जना छात्रा लाई पठाईएको उनले बताए। 

वडावासीका काम नगरपालिका बाटै गर्ने बताउँदै उनले नियम विपरित कानुन मिचेर कामकारवाही गरेको पाइए सजाय भोगन तयार रहेको जनाए। 

प्रकाशित: २ श्रावण २०७६ १४:१३ बिहीबार

वडा_सरकार एकलौटी_सञ्चालन अमरगढी_नगरपालिका तालाबन्दी