समाज

एक लाख ७५ हजार घुससहित सडकका कर्मचारी पक्राउ

तनहुँ– घुस रकमसहित सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस रकम सहित सडक डिभिजन कार्यालयका कम्प्युटर अपरेटर प्रकाश पौडेललाई पक्राउ गरेको हो।  

पौडेलसँगै वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई समेत पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए। ‘सेवाग्राहीबाट रु १ लाख ७५ हजार घुस लिने क्रममा उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेका छौँ’, उनले भने। कम्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता रिजालले बताए।

प्रवक्ता रिजालका अनुसार घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले निजहरुलाई कार्यालय परिसरबाटै पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ। बागलुङ घर भएका पौडेल विगत पाँच वर्षदेखि सडक डिभिजन कार्यालयमा दैनिक ज्यालादारीमा कार्यरत रहेका थिए।

लमजुङको सुन्दरबजारस्थित खत्रीठाँटी सडकको भुक्तानी दिने सन्दर्भमा बिल पास गराइदिने भन्दै पौडेलले प्रशासनिक खर्च मागेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रवक्ता रिजालले बताए। ‘घटनाको विषयमा थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। 

प्रकाशित: २ श्रावण २०७६ १३:२३ बिहीबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग घुस कम्युटर_अपरेटर पक्राउ