समाज

बस र भ्यान ठोक्किँदा दुईको मृत्यु, २८ घाइते

विराटनगर– मोरङको पथरी शनिश्चरे–१०, स्थित पूर्वपश्चिम राजमार्गमा  बस र तरकारी बोकेको भ्यान एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी–३, का टीकाराम थापा छन्। उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका बसमा सवार यात्रुको भने सनाखत हुन नसकेको मोरङ प्रहरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउंजुले जानकारी दिए।

दुर्घटनामा परी २८ जना  घाइते भएका छन्। घाइतेमध्ये आठजनाको स्थानीय पथरीस्थित पथरी अस्पताल, आठजनाको पथरी डाइनाष्टिक अस्पताल, सातजनाको विराटनगरस्थित नोबेल अस्पताल र पाँचजनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०९:०९ बिहीबार

दुर्घटना पूर्वपश्चिम_राजमार्ग