समाज

साढे ३७ वर्ष सजाय पाएकालाई सफाइ

नुवाकोट – मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका –१ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्।

तत्कालीन नुवाकोट अदालतका जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले वडाध्यक्ष तामाङलाई ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। कैदी जीवन बिताइरहेका वडाध्यक्ष तामाङलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले गत असार ३० गते ‘प्रतिवादी सुनबहादुर तामाङलाई कसुरदार कायम गरी सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिँदा सफाइ पाउने ठहर्छ’ भनी सफाइ दिएको छ। तामाङले भारत लगी बेचेको आरोप लगाई गाउँ फर्किएका युवतीले सामाजिक संस्थाको सहयोगमा उनीविरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए। त्यस समयमा नुवाकोट प्रहरीले पक्राउ गरी अदालतमा बुझाए पनि पाँच लाख रुपैयाँ धरौटीमा तामाङ तारिखमा छुटेका थिए।

प्रकाशित: २ श्रावण २०७६ ०२:१० बिहीबार

मानव_बेचबिखन सफाइ