समाज

जहाँजहाँ सडक, त्यहाँत्यहाँ पहिरो

तीन जनाको ज्यान लिनेगरी खोटेहाङ गाउँपालिकामा सडकबाट झरेको पहिरो । तस्बिर सौजन्यः इन्द्र नारथुंगे

खोटाङ– घरभन्दा माथिबाट खसेको पहिरोले घर बगाउँदा खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका रेखा राई, ३ वर्षका छोरा रोमन र ७ महिनाको छोरा रोजनको मृत्यु भयो। असार २७ गते बिहान गएको पहिरोमा रेखाका श्रीमान विष्णु घाईते भए। उनलाई आफन्तले टाउको मात्र बाहिर निस्केको अवस्थामा पहिरोबाट बाहिर निकालेका थिए।

एकै परिवारको तीन जनाको ज्यान लिनेगरी गएको पहिरोको मूख्य कारण भने घरभन्दा माथि निर्माण गरिएको सडक देखिएको छ। २०७१ सालमा निर्माण गरिएको भीरखर्क–सावाकटहरे–चिसापानी सडकको डिल वर्षाले भिजेर पहिरोको रुपमा खस्दा राई परिवारको घर मात्र बगाएन तीन जनाको ज्यान लिएको हो। मृतक परिवारलाई किरिया खर्च प्रदान गर्न घटनास्थल पुग्दा घरभन्दा माथिको सडकको डिल झर्दा क्षती भएको देखिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए। ‘घरको सिरानमा सडक छ। त्यही सडकको डिल पहिरोको रुपमा खस्दा घर पुरेको रहेछ,’ अध्यक्ष राईले भने, ‘यो यहाँको मात्र समस्या होईन। सबैतिरकै समस्या हो।’ वाप्लुखा मुल घर भएपनि उनीहरु खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा बस्दै आएका थिए।

यस्तै, वर्षाकै क्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका राजेन्द्र राई विस्थापित भए। घरभन्दा माथिबाट निर्माण गरिएको टुवाखोला–पञ्चमीबजार सडकको डिलबाट उर्लिएको भल बाढीले घर जोखिममा परेपछि राई परिवारलाई असार २७ गते विस्थापित भएका हुन्। विस्थापित राई परिवारलाई छिमेकी गंगाबहादुर राईको घरमा राखिएको वडाध्यक्ष लोकेन्द्र राईले बताए। सोही कारणबाट स्थानीय गणेश विकको घर समेत जोखिममा परेको छ।

वर्षा लागेसँगै जिल्लामा जताततै पहिरोको जोखिम बढेको छ। साना तथा ठूला पहिरोले उत्तिकै मात्रामा धनजनको क्षती पुर्‍याइरहेको छ। त्यी सबै पहिरोको प्रमुख कारणका रुपमा भने पछिल्लो वर्ष जताततै आफु खुसी खनिएका कच्ची सडक देखिएको छ। जहाँ जथाभावी कच्ची सडकहरु निर्माण गरिएका छन्, त्यही ठाउँमा बढिजसो पहिरोको क्षती देखिनुले पनि यही देखाउँछ। बिशेषगरी डिपिआर तयार नगरी सडक निर्माण गर्नाले सडक पहिरोको कारण देखिएको समाजवादी पार्टीका नेता टंकबहादुर थापाले बताए। ‘विकास भनेकै सडक हो भन्ने बुझाई भयो। त्यसमा पनि नाली नकाटी मनलाग्दो तरिकाले सडक खन्ने क्रम तिब्र छ,’ थापाले नागरिक न्यूजसँग भने, ‘जसका कारण पहाडमा भूःक्षय भइरहेको छ । पानीको मुहान सुक्दैछन्। समग्रमा पहाड नष्ट भइरहेको छ।’

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका सबै ७९ वडामा कच्ची सडक पुगेका छन्। खेतीयोग्य जमिन चिराचिरा चिरिएको छ। सडकले नछोएको गाउँ बिरलै भेटिन्छन्। सकेसम्म घर–घरमा सडक पुर्‍याउने प्रयास भइरहेको देखिन्छ। तर, कुनै पनि सडक वातावरणमैत्री विधि अपनाएर निर्माण गरिएका छैनन्। प्राविधिक स्टीमेट बीनै स्काभेटर चालकले आफुले चाहेको दिशामा ग्रेड नमिलाई सडक विस्तार भइरहेको थापाले बताए।

पहाडी जमिन छिया–छिया हुँदासमेत कच्ची सडक विस्तारको क्रम रोकिएको छैन्। संघीय सरकार वा प्रदेश सरकारबाट आउने अधिकांश बजेट सडक निर्माण शिर्षकमा विनियोजन गर्नेक्रम घट्नुको सट्टा बढ्दो छ। स्थानीय तहले पनि अधिकांश बजेट सडक निर्माणकै लागि ओइराइरहेका छन्। योजनावद्ध र दिगो विकासका बारेमा कम जानकारी हुँदा जताततै सडक खन्ने क्रम बढेको दिक्तेल बहुमुखी क्याम्पसका सहायक प्राध्यपक ध्रुव श्रेष्ठले बताए। ‘जनप्रतिनिधि तत्काल देखिने बिकास गर्न चाहन्छ, जनता पनि तत्काल देखिने विकास चाहन्छ,’ श्रेष्ठले भने, ‘अर्को चैं जो पावरमा छ उसँग डोजर छ। डोजरलाई काम मिलाउन पनि सडकलाई बढि बजेट विनियोजन गर्नेगरिएको पाईन्छ।’ बिल भपाई मिलाउन सहज हुने र फाईदा बढि आउने भएकाले पनि कतिपय ठाउँमा सडकमा बजेट खर्च गर्न हौसिने गरेको बताइन्छ।

प्रकाशित: ३१ असार २०७६ ०८:३६ मंगलबार

खाेटाङ सडक पहिराे