समाज

उदयपुरमा पहिरोले घर पुरेर महिलाको मृत्यु, मुर्कुचीमा बाढी पसेर बालक बेपत्ता

उदयपुर– निरन्तर वर्षाका कारण उदयपुरमा पहिरोले घर बगाउँदा एक महिलाको मृत्यु भएको छ। पहिरोले घरसहित बगाउँदा रौतामाई गाउँपालिका ८ डिल्लीबरस्थित गहिरीगाउँकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले बताएका छन्।

उनका अनुसार राति नै भएको घट्नाबारे मंगलबार विहान मात्र जानकारी भएको हो। रणमायाको घरसहित पहिरोले बगाएर मृत्यु भएको र अन्य कति परिवार थिए भन्ने विवरण आउन बाँकी रहेको अध्यक्ष खड्काले बताए। उनको घर बगाएसँगै आसपासका १७ घर पहिरोले बगाउने जोखिममा परेको पनि खड्काको भनाई छ।

यता रौतामाईकै ७ नं. वडास्थित जिल्लाको मध्यवर्ती व्यापारिक केन्द्र मुर्कुची बजारमा सोमबार राति ८ः३० बजे पसेको बाढीले स्थानीय अर्जुन तामाङका ९ वर्षीय छोरा आर्यन तामाङ बेपत्ता भएका छन्। राति सबै सुत्न लागेका बेला बजारभन्दा झण्डै १ किलोमिटर माथि गुराँसेस्थिथ पहिरोले छौड्या खोला थुनिन पुग्दा बाँध भत्केर बाढी बजार पसेको स्थानीय मोहन बुर्जामगरले बताएका छन्। उनका अनुसार बाढीले स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्ने आर्यनलाई बगाएर बेपत्ता पारेको र आमालाई घाईते बनाएको छ। बेपत्ताको खोजी रातिदेखि नै भईरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

सदरमुकामदेखि उद्धार टोली तत्काल खटाइए पनि सडक अवरुद्ध र निर्माणाधीन मदन भण्डारी लोकमार्गको गाईघाट–मुर्कुची खण्डस्थित त्रियुगा खोलामा पुल बनिनसकेको हुनाले खोला तर्न नसकेर टोली घट्नास्थल पुग्न नसकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार स्थानीयहरुको साथमा सुकौरा प्रहरी चौकीका प्रहरीलाई भने घट्नालगत्तै उद्धार कार्यमा खटाइएको छ।

मुर्कुचीको घट्नाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी ध्रुब खड्कालगायतको टोली विहखन घट्नास्थलतर्फ लागेको छ। जनपथ र सशस्त्र प्रहरी प्रमुख, गाउँपालिका अध्यक्ष, रेडक्रसकर्मीलगायतको टोलीमा उद्धारकर्मी पनिसँगै गएका छन्। सिडिओ तथा जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्ष खड्काले बाढी पसेर मुर्कुची बजारका साढे ३ सय घर परिवार हताहत भएको खवर आएको हुनाले यथार्थ बुभ्mन उद्धार टोलीसहित घट्नास्थल हिडेको बताउँदै उनीहरुको सुरक्षा र तत्काल राहतको व्यवस्था मिलाउन पहल गर्ने बताएका छन्।

 

प्रकाशित: ३१ असार २०७६ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App