समाज

बाढी पहिरोका कारण मकवानपुरमा मर्नेको संख्या पाँच पुग्यो

मकवानपुर– मकवानपुरमा बाढी र पहिरोको कारण मृतकको संख्या ५ जना पुगेको छ भने घाइतेको संख्या ३ पुगेको छ। आइतबार राती ईन्द्रसरोवर गाउँपालिका १, मार्खुमा पहिरोले घर पुर्दा घरभित्र सुतिरहेका आमा छोरीको मृत्यु भएको छ।

स्थानीय करिब ४१ बर्षीया कान्छीमायाँ बलामी र उनकी छोरी १८ बर्षीया बबिता बलामीको मृत्यु भएको हो भने ३८ बर्षीया बुहारी बेली बलामी घाईते भएकी छिन्। घरमाथिबाट आएको पहिरोले पुरेर बेपत्ता भएका उनीहरुको सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

राती नै पहिरो लडे पनि स्थानीय बासिन्दाले बिहान मात्र घटनाबारे थाहा पाएका थिए। ‘बिहान पख बलामीकोे घर नै नदेखेपछी स्थानीयले हामीलाई खबर गरेका थिए’, उनले भने, ‘पहिरोमा पुरिएकाहरुको नेपाली सेना र ईलाका प्रहरी कार्यालय चित्लाङको टोलीले उद्धार गरेको थियो।’

यसअघि ईन्द्रसरोवर गाउँपालिका २ की १४ वर्षीया सुष्टी डिम्डुङ्ग, कैलाश गाउँपालिका १० का करिब ५५ वर्षीय सानुकान्छा सुनार र थाहा नगरपालिका ३ की १४ वर्षीया छोरी सन्तमायाँ बलामीको बाढी पहिरोका कारण ज्यान गईसकेको छ।

यसैबीच, घाइते बेली बलामीको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, पहिरोले बगाएर घाईते भएकी कैलाश गाउँपालिका ५ की तारामायाँ पाख्रिनको काठमाडौंमै उपचार भइरहेको छ भने हेटौडा उपमहानगरपालिका १५ रातोमाटेस्थित खहरे खोलाले बगाएका एक करिब ४५ बर्षीय बृद्धको भरतपुरमा उपचार भइरहेको छ।

प्रकाशित: ३० असार २०७६ १५:५२ सोमबार

बाढी_र_पहिरो मकवानपुर मृत्यु