समाज

राहत तथा उद्धार जुट्न राष्ट्रपतिको आह्वान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरो तथा डुबान पीडितको उद्धार तथा राहतमा सबैजना जुट्न आग्रह गरेकी छन्। राष्ट्रपतिले आइतबार एक विज्ञप्ति जारी गर्दे सो आह्वान गरेकी हुन्।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले घाइतेको उपचार, बेपत्ताको खोजी तथा पीडितलाई राहत दिने कार्यमा जुट्न आह्वान गरेकी हुन्।

‘पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रहरू परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वाससमेत व्यक्त गरेको छु,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनले प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउनसमेत सबैलाई आह्वान गरेकी छन्।

प्रकाशित: ३० असार २०७६ ०२:१४ सोमबार

बाढीपहिरो पीडित राहत उद्धार