समाज

मृतकका परिवारलाई प्रदेश १ सरकारले दुई लाख राहत दिने

विराटनगर– अविरल वर्षापछि आएको बाढी पहिरोले मृत्यु भएकाहरूको परिवारलाई प्रदेश १ को सरकारले दुई लाख रुपैयाँका दरले  राहत दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको  हो।

यस्तै बाढी पहिरोबाट घाइते भएकाहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, निजी अस्पतालमा उपचार गर्नेको  ५० हजार रुपैयाँसम्मको विल सरकारले भुक्तानी गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए।

अविरल वर्षाका कारण  बाढी, पहिरो र डुवानले प्रदेशमा धनजनको क्षति भएकोप्रति प्रदेश सरकारले दुःख व्यक्त गरेको छ। उद्धार, राहत, पुनस्थापना र वेपत्ताको खोजिका लागि सरकारले सबैलाई अपिल पनि गरेको छ। प्रदेशमा १ मा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ। विभिन्न जिल्लामा ९ जना घाइते भएका छन् भने ९ जना नै वेपत्ता भएका छन्।

प्रकाशित: २९ असार २०७६ १३:५८ आइतबार

अविरल_वर्षा प्रदेश_१ राहत