समाज

रौतहट बाढीः ७० हजार परिवार प्रभावित

रौतहट– अविरल वर्षासँगै रौतहटमा आएको बाढीले जिल्लामा अपुरणीय क्षति पु-याएको छ। निरन्तरको वर्षात र बाढीले जिल्लाको सबै भौतिक संरचनामा असर पु-याएको छ भने जनजीवन निकै कष्टकर बनाएको छ। बाढीले जिल्लामा जनधनको निकै ठूलो क्षति पु-याएको छ।

अत्यधिक वर्षा र बाढीले आइतबार दिउँसोसम्म जिल्लामा पाँच जनाको शव बरामद भएको छ भने दुईजना अझै हराइरहेका छन्। रौतहटको यमुनामाई गाउँपालिका १ जेठरहियाकी २५ वर्षिया गायत्री देवी, ईशनाथ नगरपालिका १ बन्जरहाका ३५ वर्षिय हरेन्द्र राय यादव, दुर्गा भगवती गाउँपालिका ४ का ४५ वर्षिय विरेन्द्र मिश्र र गौर नपा ३ का ४५ वर्षिय शिवमंगल पटेल तथा २५ बर्षिय उमेश राउत पटेलको शव बरामद भएको छ। शनिवार बाढीको भेलमा बगेर बेपत्ता भएका पाँचै जनाको शव आइतबार प्रहरीले बरामद गरेको हो। बाढीको पानी कम भएपछि शव बरामद भएको रौतहट प्रहरीका प्रमुख एसपी भुपेन्द्रबहादुर खत्रीले नागरिक न्यूजलाई जानकारी दिएका छन्।

यसैगरी गढीमाई नगरपालिका ३ का कुल्हारी देवी भनिने आनन्दी देवी यादव शुक्रवारदेखि र इशनाथ नपा ३ का ३५ वर्षिय रामपुकार पटेल विहीवारदेखि नै हराइरहेका छन्। वेपत्ता दुवैजनाको शवको खोजी भइरहेको र बाढीको भेलले भारतीय भूमिमा पु¥याएको हुन सक्ने भएकोले विभिन्न माध्यमले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बेपत्ता भएका व्यक्तिका आफन्तहरुले पनि खोजी गरिरहेको बुझिएको छ।

७० हजार परिवार प्रभावित
जिल्लाका प्रमुख खोलाहरु बागमती, लालबकैया, झाँझ, लमहा, चानी, तरहारीमा आएको बाढी र अविरल वर्षाले जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरी १८ वटै स्थानीय तह प्रभावित भएको देखिएको छ। करिब सबै गाउँहरु दुई दिनसम्म टापुमा परिणत भएको थियो भने कम्तीमा ७० हजार परिवार बाढीबाट प्रभावित रहेको पूर्वानुमान रहेको छ।

बाढीबाट सवैभन्दा बढी गौर नगरपालिका, दुर्गा भगवती गापा, राजदेवी नपा, यमुनामाई नपा, इशनाथ नपा, परोहा नपा, देवाहीगोनाही नपा, वृन्दावन नपा, गढीमाई नपा, माधवनारायण नपा, फतुवा विजयपुर, राजपुर, बौधीमाई, पूर्ण रुपमा प्रभावित भएको छ भने गुजरा, चन्द्रपुर, कटहरिया, गरुडा र मौलापुर नगरपालिका आँशिंक रुपमा बाढीबाट प्रभावित भएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बाढीबाट प्रभावित बस्तीका स्थानीय बासिन्दाहरुलाई डोरी, बास र डुंगाको सहारामा स्थानीय तहहरुबाट उद्धार गरी सुरक्षित स्थानमा पु¥ुयाइएका थिए भने उनीहरुलाई स्थानीय स्तरमा उपलब्ध राहत दिएर जिवकोपार्जन गराएको थियो। खास गरेर सदरमुकाम गौरको मुख्य सडक सम्पूर्ण सरकारी कार्यालय तथा सर्वसाधारणहरुको घरमा चारदेखि १० फिटसम्म पानी जमेपछि उनीहरु खुला छतमाथि बसेर ज्यान जोगाएका छन्। जिल्ला प्रहरी कार्यालय गौरमा १० फिटसम्म बाढीको पानी जमेपछि उद्धारमा खटिने प्रहरी आफै उद्धारको समस्यामा परेको थियो।

लगातार तीन दिन घर र छतमा बस्न बाध्य गौरमा आइतबार दिउँसोदेखि वातावारण सहज भएको छ। दिउँसोदेखि गौरबासी सहज जीवनयापन गर्न पाएका छन्। घरबाट निस्कन सजिलो भए पनि टेलिफोन, मोबाइल र संचारका अन्य साधन अवरुद्ध छन् भने बिजुलीको लाइन पनि दुई दिनदेखि नहुँदा सदरमुकाममा सबै किसिमको समस्या देखिएको छ। जिल्ला सदरमुकाम गौरमा बाढीजन्य महामारीको खतरा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।

जनप्रतिनिधिले दिए एक महिनाको तलब
बाढीबाट अत्यधिक प्रभावितमध्ये दुर्गा भगवती गाउँपालिकाका जनप्रतिनिधिहरुले एक महिनाको तलब विपद व्यवस्थापन समितिलाई दिने भएका छन्। आइतबार पालिकास्तरिय बैठकबाट बाढी प्रभावित परिवारका लागि निर्वाचित जनप्रतिनिधिहरुले एक महिनाको तलव दिने निर्णय गरेको गापा अधयक्ष अरुणकुमार साहले बताएका छन्। यसै गरी बाढीबाट क्षति भएका परिवारहरुलाई राहत प्रदान गर्न विभिन्न शिर्षकहरुको रकम रकमान्तर गरेर विपत व्यवस्थापन समितिमा ल्याउने, प्रभावित परिवारहरुका लागि निर्वाचित जनप्रतिनिधिहरु एक महिनाको तलव दिने, मृतक विरेन्द्र मिश्र र नरेश चौधरीको परिवारलाई क्रिया खर्च वापत जनही २५ हजार दिने, प्रभावित परिवारलाई तत्कालिन राहतमा २५ किलो चामल, चिउरा ५ किलो, खाने तेल, चाउचाउ विस्कुट, नुनको प्याकेट २५ सय परिवारलाई उपलब्ध गराउने निर्णय भएको अध्यक्ष साहले बताएका छन्।

क्षतिको सम्पूर्ण विवरण आउन बाँकी
जिल्लाका भौतिक क्षतिको संकलन भइरहेको छ। सरकारी भवन, पुल तथा नदीको बाँधमा के कति क्षति भयो विवरण आइरहेको छ। जिल्लाको मुख्य ध्यान अहिले राहत तथा उद्धारमा केन्द्रित रहेकोले एक हप्तामा भौतिक क्षतिको विवरण आइपुग्ने बताइएको छ।

घरबाट विस्थापित भएर विभिन्न विद्यालय तथा अन्य सार्वजनिक ठाउँहरुमा शरण लिइरहेकाहरुको व्यवस्थापनमा पनि अहिले ध्यान केन्द्रित रहेको जिल्ला सुरक्षा स्रोतले बताएको छ।

प्रकाशित: २९ असार २०७६ १३:५१ आइतबार

वर्षा बाढी क्षति मृत्यु