समाज

असारे झरीले स्थानीयलाई सास्ती

रौटहत - असारे झरीका कारण रौतहट सदरमुकाम गौरलगायत जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्म र डुबान भएका कारण स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

सघन सहरी विकास डिभिजन कार्यालयद्वारा निर्माणाधीन सदरमुकाम गौरको वडा नम्बर २ जुद्ध मावि भएर जाने बाटो, वडा नम्बर ३ हुँदै बालेश्वरनाथ महादेवस्थान जाने बाटो निरन्तर वर्षाबाट कतै हिलाम्म कतै जलमग्न भएका छन्। सडक डिभिजन कार्यालय चन्द्रपुरबाट निर्माणाधीन सडक जयनगर देवाही हुँदै मौलापुर जाने बाटो, सोही कार्यालयद्वारा निर्माणाधीन गौर गंगापिपरा समनपुर जाने रजैया सडक, गरुडा समनपुर सडकमा सम्बन्धित निकाय र निर्माण पक्षधरको चरम लापरबाहीका कारण समयमा बाटोको मर्मत–सम्भार नहुँदा ती सो भेगका स्थानीयको जनजीवन र आवतजावत कठिन भएको छ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले दुई वर्षअघि ठेक्का सम्झौता गरिसकेको धरहरी देवाही सडकको काम समयमा सम्पन्न नगरेका कारण वर्षायाममा सडक हिलाम्य र जलमग्न भएपछि दुख भोग्नुपरेको धरहरीका राजेश साहले बताए। निर्माण कम्पनी थ्रेगिङ निर्माण सेवा कैलालीको लापरबाहीका कारण धरहरी देवाही सडकखण्डको अवस्था अति नै दयनीय बनेको उनले बताए। साहका अनुसार निर्माण कम्पनीले बाटो बनाउनका लागि मोबिलाइजेसन रकम निकाले पनि सडक निर्माणको काम नगरेका कारण सो बाटो भएर आवतजावत गर्न निकै कठिनाइ भइरहेको छ।

देवाही गोनाही नगरपालिकाअन्तर्गत पर्ने सो सडकको अवस्था एवं स्वरूप बिग्रिएपछि नगरप्रमुख धर्मेन्द्र पटेलले सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगाप्रसाद साहलाई अबिलम्ब बाटोको मर्मत गराउन आग्रह गरेका थिए। गौर नगरपालिका–२ स्थित जुद्ध मावि जाने बाटो हिलाम्य र जलमग्न भएर स्थानीयलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। गौर गंगा पिपरा समनपुर सडकखण्डमा पर्ने मत्सरी, रजवाडासम्म पुग्ने बाटोको अवस्था पनि उस्तै छ। गरुडा समनपुर सडकको पनि बेहाल भएको छ। सडक डिभिजन कार्यालय चन्द्रपुरद्वारा निर्माण भइरहेका सडकका संरचनाहरू वर्षाका कारण भत्किन थालेका छन्। बाटोको संरचना बिग्रिन थालेपछि सम्बद्ध निर्माण व्यवसायीहरूलाई बोलाएर ती बाटोहरूको तत्काल बनाउन निर्माण कम्पनीहरूलाई निर्देशन दिएको सडक डिभिजन कार्यालयका प्रमुख दरोगाप्रसाद साहले बताए।

प्रकाशित: २८ असार २०७६ ०१:५६ शनिबार

झरी सास्ती स्थानीय