काठमाडौं - मानिसको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इलाका प्रहरी कार्यालय नवलपरासी (गैंडाकोट) का प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सात प्रहरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जिसीसहित अपराध अनुसन्धान शाखाका सई दामोदर भट्टराई, असई देवबहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोस्ट गैंडाकोटका इन्चार्ज हवल्दार बलबहादुर वली, नक्कली चालक किसुन महतो, सवारी चालक बोधराज पाण्डे र मतियार सालिकराम पाण्डेविरुद्ध मुद्दा दायर गरिएको हो । गत जेठमा बोधराजले चलाएको बा२०च ११७९ नम्बरको जिपले विपरीत दिशाबाट आएको ना२८प ४६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दकली शर्माको मृत्यु भएको थियो । घटनापछि प्रहरीले आर्थिक प्रलोभनमा परेर कारचालक बोधराजलाई उन्मुक्ति दिन नक्कली चालकका रूपमा किसुनलाई खडा गरेको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारले अपराध अनुसन्धान शाखाका सई दामोदर भट्टराई, असई देवबहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोस्ट गैंडाकोटका इन्चार्ज हवल्दार बलबहादुर वली, नक्कली चालक किसुन महतो, सवारी चालक बोधराज पाण्डे र मतियार शालिकराम पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ ।
सवारी दुर्घटनामा मानिसको मृत्युजस्तो संवेदनशील मुद्दाको गहन अनुसन्धान गर्नुपर्नेमा अपराधमा संलग्न वास्तविक व्यक्तिलाई उन्मुक्ति दिने र निरपराधीलाई दोषी देखाउने कार्य गम्भीर अपराध भएको पनि आयोगले ठहर गरेको छ । आरोपित चार प्रहरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैदसजाय मागदाबी गरिएको छ । नक्कली चालक किसुन, वास्तविक चालक बोधराज र बिचौलिया सालिकरामविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुरको मतियार भएको अभियोगमा कैद सजाय हुनुपर्ने उल्लेख छ ।
नक्कली चालक किसुनले आफ्ना साहु बोधराजलाई जोगाउन ‘म नै चालक हुँ भनी झूटा विवरण दिएको अभियोगमा उनलाई पनि कैद मागदाबी गरिएको छ । महतो बिचौलिया सालिकरामको योजनाअनुसार आफू नक्कली चालक बन्न तयार भएका थिए । आयोगका अनुसार प्रहरी निरीक्षक जिसीसहितले आर्थिक प्रलोभनमा परी दुर्घटना गराउने चालकलाई उन्मुक्ति दिएर नक्कली चालक खडा गरेका थिए । घटनमा संलग्नलाई उन्मुक्ति दिएर निरीक्षक जिसीले नै घाइते पक्षसँग भएको सहमति कागजमा चालकको नाम किसुन महतो भनी उल्लेख गर्न निर्देशन दिएका थिए । जिसीको निर्देशनपछि सई थापाले चालकको नाम महतो राखेर उनलाई थुनामा पठाएका थिए ।
प्रकाशित: २८ असार २०७६ ०१:१९ शनिबार