समाज

बाढी–पहिरोले १७ जनाको मृत्यु, कहाँ के–के भयो ?

काठमाडौं– केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।

शुक्रबार साँझ ७ बजेसम्म काठमाडौंमा–३, खोटाङ–३, भोजपुरमा–२, काभ्रे–२, रामेछाप–१, धादिङ–१,ललितपुर–१, महोत्तरी–१, पर्सा–१, सिन्धुली–१, रुकुमपश्चिम–१ जनाको मृत्यु भएको छ ।

काठमाडौंः काठमाडौंको कागेश्वरी मनोहरा–६ मा पहिरोले टहरो पुरिँदा तीन जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्। मृतक सबै एकै परिवारको भएको  महानगरीय प्रहरी परिसर, टेकुले जनाएको छ।

खोटाङः खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ। घरमाथिबाट आएको पहिराले घर बगाउँदा बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उनका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काभ्रेः पहिरोले घर भत्काउँदा बनेपा नगरपालिका–३, चुनातालमा दुई जनाको मृत्यु भएको छ। पहिरोले घर पुरिँदा रामप्रसाद दंगालकी श्रीमती अन्दाजी ६० वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सुहाबी दंगालको घटनास्थलमै मृत्यु भएको हो।

घरभित्र रहेका चारैजना पुरिएका थिए। रामप्रसादकी बुहारी ३० वर्षीया सुशिला दंगाल, नातिनी तीन महिनाकी अनुष्का दंगाल गम्भीर घाइते भएका छन्।

भोजपुरः पाँच दिनदेखि परेको अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ।  अविरल वर्षातको कारण घर भत्किँदा र चर्पी बगाउँदा मृत्यु भएको हो। वर्षापछि आएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको मृत्यु भएको छ। रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगत बहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर मृत्यु भएको हो।

घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर किचेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले बताए। घरमा अन्य सदस्यहरु घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरी निरिक्षक राजवंशीले जानकारी दिए।

मृत अवस्थामा राईको शव स्थानीयले देखेपछि अस्थायी प्रहरी चौकी बैकुण्ठेमा खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरी टोलीले उनको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। लेखर्कका १४ वर्षीय जनक विकको पनि चर्पी बस्दाबस्दै पहिरोले पुरिएर मृत्यु भएको हो। शुक्रबार विहान करिब ८ बजेतिर चर्पी बस्ने क्रममा पहिरोले चर्पी नै बगाएपछि उनको मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए। पहिरोले करिब १७ मिटर तल मान्छेसहित चर्पी बगाएको थियो।

रुकुमपश्चिमः आठबीसकोट नगरपालिकामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ। पहिरोसँगै खसेको ढुङ्गा लाग्दा वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो।

जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा पहिरोसँगै आएको ढुङ्गा लाग्दा बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित विकले जानकारी दिए। मृतक बस्नेत सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत थिए।

धादिङः पहिरोले घर लडेपछि गजुरी गाउँपालिका–४ की ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

पर्साः पर्सागढी नगरपालिका–१ मा खोलाले बगाएर १० वर्षीय बालक निखिल पटेलको मृत्यु भएको छ।

महोत्तरीः बलवा नगरपालिका–२ बदियाका ७० वर्षीय हनिफ बैठाको बाढीले बगाएर मृत्यु भएको छ। घाँस काट्न गएका हमिद मियालाई खोला तर्ने क्रममा बाढीले बगाएको थियो।

सिन्धुलीः फिक्कल गाउँपालिका–१ भुल्केमा पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हरिमाया सुनुवारको मृत्यु भएको छ।

ललितपुरः बागमती नगरपालिका–३ मा पहिरोले ११ वर्षीय सरोज तामाङ पहिरोमा पुरिएर मृत्यु भएको छ।

रामेछापः रामेछाप नगरपालिका–५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनुवार मृत्यु भएको छ।

प्रकाशित: २७ असार २०७६ १३:४७ शुक्रबार

बाढी–पहिरो मृत्यु घाइते उद्धार