समाज

केही दिन अझै भारी वर्षा हुने

काठमाडाैं– न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपाल प्रवेश गरेकाले देशभर वर्षा भइरहेको छ। न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन्। 'आगामी तीन दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने हुन्छ', उनले भनिन्।

विशेषगरी आज र शनिबारलाई देशभर नै जोखिम रहेकाले नदी तथा तटिय क्षेत्रमा हुनेहरु सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ। खासगरी २५ जिल्लामा कहिले मध्यम केहिले भारी वर्षा भइरहेने बताइएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार वाग्मती नदीको तराई क्षेत्रमा बहाब खतराभन्दा माथि बढ्दो क्रममा रहेको छ।

खास गरी प्रदेश नं १, २ र ३ का सबै चुरे खोलामा बहाब सतर्कतामाथि र उच्च खतरा शनिबारसम्म कायम रहने भएकाले सर्तक रहन आग्रह गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १९.० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा २३.०, दाङमा २३.४, जुम्लामा १५.९, धनगढीमा २५.५, नेपालगञ्जमा २५.६, सिमरामा २४.४, दिपालमा २४.६ र वीरेन्द्रनगरमा २४.३ मिलिमिटर वर्षा मापन गरिएको छ। रासस

प्रकाशित: २७ असार २०७६ १३:४८ शुक्रबार

वर्षा बाढी माैसम