समाज

पहिरोले घर भत्किँदा बालिकाको मृत्यु

पहिरोले भत्किएको घर। तस्बिरः नागरिक

धादिङ– अविरल वर्षासँगै गएको पहिरोले घर भत्किँदा शुक्रबार धादिङमा बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किँदा उनको ८ वर्षीया छोरी अस्मिता तामाङको मृत्यु भएको हो।

घटनामा तामाङका १२ वर्षीय छोरा जयराम तामाङ घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

बुधबारदेखि लगातार परेको पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० बादरेमोडमा लेदो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

त्यस्तै सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा नं ३ शीलतबजारको  सडक भासिदाँ दर्जनौ घर पहिरोको जोखिममा परेको छ। भुकम्पका कारण भत्किएको सडक निर्माण हुन नसक्दा जोखिम मोलेर बसिरहेका सो क्षेत्रमा बर्षाको पानीले सडक भासिन थालेको स्थानीयको भनाइ छ। पानीले सडक एक फिट भन्दा तल भासिएर पहिरो सुरु भएको छ।

प्रकाशित: २७ असार २०७६ १३:०१ शुक्रबार

वर्षा धादिङ पहिराे