समाज

फूलमा भविष्य खोज्नेहरू

गोरखा सदरमुकाममा सञ्चालन भएको फूल नर्सरी। तस्बिरः नागरिक

गोरखा– गोरखा नगरपालिका–६, पाटेचौउरका महिलाहरूले व्यावसायिक फूलखेती सुरु गरेका छन्। ‘फूल किन्न अब बाहिर जानुपर्दैन, यहीँ हामीले सबैखाले फूल बिक्री गर्छौँ,’ कालिका फूल नर्सरी गोरखा फार्मकी सञ्चालक मध्येकी एक पुष्पा श्रेष्ठले भनिन्।

गोरखा सदरमुकाममै फार्म सञ्चालन गरी महिलाहरूले बिक्री थालिसकेका छन्। ‘अन्यत्र नर्सरीमा गएर हेरेर सिक्दै उत्पादन गर्दै गरेका छौँ,’ पुष्पाले भनिन्, ‘यहाँ नै नर्सरी बनाएर उत्पादन गर्ने योजना छ, यहाँ उत्पादन नभएका फूल बाहिरको नर्सरीहरूसँग समन्वय गरेर बिक्री गर्छौं ।’

पाँचजना महिला मिलेर सुरु गरेको उक्त व्यवसायमा जनही ५० हजार लगानी भएको छ। गोरखा नगरपालिका कृषि शाखाले पनि आर्थिक सहयोग गरेको सञ्चालक महिलाहरू बताउँछन्।

फार्मको उद्घाटन गर्दै नगर प्रमुख राजनराज पन्तले महिलाहरूलाई व्यावसायिक बनाउने योजनाअनुसार कार्यक्रम सञ्चालन भइरहेको बताए। ‘ढाका उद्योग, फूल खेती, सिलाइकटाइ, पशुपालन व्यवसायी बन्दैछ,’ उनले भने, ‘यी सबैजसो उद्यममा महिलाहरू सक्रिय देखिन्छन्।’

महिलाहरूलाई घर खर्च चलाउने गरी आम्दानीको स्रोत जुट्ने भन्दै उपप्रमुख बिनाकुमारी श्रेष्ठले जिल्लामै पहिलो पटक फूल खेती गरेर जिल्लावासीलाई सजिलो सेवा दिएको बताइन्।

उक्त नर्सरीमा क्रिसिन्डा, भिका, म्यण्डेभिला, हेलिस्कस, अरटर, सेलोसिया, सयपत्रीलगायतका फूलको बेर्ना छ। गोरखा सदरमुकाममा हुने हरेकखाले सभा सम्मेलनमा स्वागत सत्कारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने बाध्यता कम गर्न नर्सरीले मद्दत पुग्ने भन्दै अवलोकन गर्न पुगेकाहरूले प्रशंसा गरे।

प्रकाशित: २६ असार २०७६ १०:४८ बिहीबार

फूल भविष्य महिला