समाज

काठमाडौंमा ‘तीज विशेष मेला’

काठमाडौं– आगामी साउन १६ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘तीज विशेष मेला’ हुने भएको छ। महिला सृजनशील केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीजको अवसर पारेर सदाझैं यस वर्ष पनि मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो।

देशभरका महिला उद्यमीहरू सहभागी हुने सो मेलामा तीज विशेषका सामग्रीहरूको प्रदर्शनी रहने केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन्। मेलामा दुई सय बढी स्टल रहनेछन्। एक लाख बढीले अवलोकन गर्ने अपेक्षा लिइएको सो मेलामा निःशुल्क फोटो सुट, निःशुल्क मेहेन्दी लगाउने, कपाल कटिङलगायतका कार्यशालाहरू पनि आयोजना हुने सो मेलाको व्यवस्थापनको जिम्मेवारी पाएको इभेन्ट व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक पशुपति केसीले जानकारी दिए।

केन्द्रले यस वर्ष तीजको अवसर पारेर प्रदेश ३ को राजधानी हेटौडा र प्रदेश १ को इटहरीमा पनि सो मेला आयोजना गर्ने जनाएको छ। यसका लागि हेटौडा उद्योग वाणिज्य संघ र इटहरी उद्योग वाणिज्य संघसँग छलफल भइरहेको केन्द्रले जनाएको छ।

प्रकाशित: २६ असार २०७६ १०:३२ बिहीबार

तीज_विशेष_मेला भृकुटीमण्डप