समाज

पर्खाल भत्कँदा बालिकाको मृत्यु

रोल्पा – सुनिलस्मृति गाउँपालिका–१, घोडागाउँको पञ्चीकोटमा पर्खाल भत्किँदा एक बालिकाको ज्यान गएको छ। दुई दिनदेखि लगातार भइरहेको वर्षातपछि घर नजिकको पर्खाल भत्किँदा च्यापिएर दुई वर्षीया समीक्षा घर्तीको मंगलबार दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले घटनास्थलमा प्रहरी पुगेको बताए। उनका अनुसार घर नजिकको पर्खाल वर्षाका कारण भिजेकाले भत्किएको हुन सक्छ। घटना हुँदा घरमा अरु कोही नभएको बताइएको छ। घटनास्थलमा पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पठाएको छ। 

सुनिलस्मृति गाउँपालिका प्रमुख गुणेन्द्र घर्तीमगरसहितको टोली पीडित परिवारका लागि राहत लिएर बुधबार घोडागाउँ जाने तयारीमा रहेको गाउँपालिकाका प्रेस सल्लाहकार आशिष क्षेत्रीले बताए।

प्रकाशित: २४ असार २०७६ ११:०६ मंगलबार

पर्खाल_भत्किँदा मृत्यु बालिका