समाज

ढलको निकास थुनिँदा बस्ती डुबानमा

ढलको निकास थुनिएर पस्दा डुबान भएको नेपालगन्ज–१०, जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती। सबै तस्बिरः अर्जुन ओली/नागरिक

नेपालगन्ज – ढल तथा नालाको निकास थुनिँदा नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न वडा मंगलबार डुबानमा परेका छन्। ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगन्ज–१० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ।
न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो। उक्त ढल उपमहानगरपालिकाले एकीकृत सहरी विकास आयोजनामार्फत् एसियाली विकास बैंकको ऋण/अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको थियो।

ठेकेदारले अधुरो छाडेको उक्त नालामा झारपात उम्रिएर निकास थुनेपछि पानी बग्न नपाएर बस्ती डुबान गरेको स्थानीय शंकर ठकुरीले बताए। ‘नालामा उम्रेको झारपातले बग्ने पानी जाम गरेको छ,’ उनले भने। उक्त नाला घुमाउँरो हिसाबले बनेको छ। नालाको अगाडितिर निकास थुनिँदा घुमेर बग्न नसकेको पानी बस्तीतिर छिरेको हुन सक्ने स्थानीयको अनुमान छ। नाला निर्माणका क्रममा उपमहानगरपालिकाले ध्यान नपु-याउँदा अहिले समस्या बल्झिएको उनीहरुले बताएका छन्।

थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिका कार्यालयमा फोन गरेर एक्साभेटर पठाइदिन आग्रह गर्दा जनप्रतिनिधि र कर्मचारीले महŒव नदिएको स्थानीयको गुनासो छ। बस्तीमा पानी जलाम्य भएपछि बालबालिका र वृद्धवृद्धा डुब्ने जोखिम बढेको अर्का स्थानीय गगन थापाले बताए। ‘ढलको पानी बस्तीमा छिरेर पूरै जलाम्य भएको छ, जताततै पानी हुँदा हिँडडुल गर्नै समस्या छ, खास गरी बालबालिका र वृद्धवृद्धा डुब्ने जोखिम छ,’ थापाले भने।

अर्बौं बजेट खर्च गरेर आयोजना सञ्चालन भए पनि डुबान समस्या समाधान नहुँदा नेपालगन्जवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको छ।

उपमहानगरपालिकाको अन्य वडाको हालत पनि यस्तै छ। नालाको निकास थुनिँदा पानी सडकभरि जमेको छ। नालाको निकास नहुँदा स्थानीय रानी तलाउ, महेन्द्र स्कुल रोड, महेन्द्रपार्क क्षेत्र, घरबारीटोल, धम्बोझी, बेलासपुर, न्युरोड, गणेशपुर, बाँकेगाउँ, कोरियनपुर, भृकुटीनगर, सदरलाइन, कारकाँदोलगायत क्षेत्र जलाम्य भएका छन्। जलाम्य भएको पानी कतिपय स्थानीयको घरभित्र समेत पसेको बताइएको छ। उपमहानगरपालिकाले अर्बौं रुपैयाँको लागतमा ढल तथा नाला निर्माण गरे पनि यो प्रभावकारी नभएको पटक–पटक हुने डुबानका घटनाले पुष्टि गरेको छ।

पटक–पटक बल्झिने डुबान समस्यालाई यहाँका जनप्रतिनिधिले अझै पनि गम्भीर रुपले लिएको पाइँदैन। उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणा वर्षा लगत्तै नालामा पानी एकैचोटी बग्न नसक्दा जलाम्य हुने गरेको र छिनभरमै सुक्ने बताउँछन्। ‘पहिलेको जस्तो डुबान समस्या अहिले छैन, एकछिन परेको पानी बग्न समय लागिहाल्छ नि,’ उनले नागरिकन्युजसँग भने, ‘नालाबाट पास हुन नसकेको पानी बाहिर जम्मा हुन्छ अनि एकैछिन सुकिहाल्छ।’

नगर प्रमुख राणाको भनाइप्रति नगरवासी भने सहमत छैनन्। डुबान समस्या बल्झिँदै जान थालेपछि उनीहरू आक्रोशित छन्। ‘एडिबीको ऋण सहयोगबाट नेपालगन्ज पहिलेको तुलनामा झट्ट हेर्नेलाई सुधारिएको लाग्छ, तर सडक र नाला–नालीको काम भएपछि पनि एक घण्टा दर्केर पानी पर्दा नेपालगन्जमा कतै सर्वसाधारण बाटो हिँड्न धौ–धौ हुने देखिन्छ भने मनमा खिन्न बनाउँछ,’ पत्रकार हेमन्त कर्माचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो अवस्थालाई पनि निरीक्षण गर्ने गर्नोस् र यसरी पानी नजम्ने उपाय सोच्नु होस् न मेयर ज्यू, वडाध्यक्ष ज्यू।’

२०६३ साल यता निम्तिन थालेको डुबान समस्या समाधान गर्ने भन्दै एसियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा सुरुमा एकीकृत सहरी विकास आयोजना सञ्चालन भयो। एडिबीकै ऋण/अनुदान सहयोगमा पुनः क्षेत्रीय सहरी विकास आयोजना सञ्चालन गरियो। दुवै आयोजनाबाट गरी करिब ५ अर्ब रुपैयाँ नेपालगन्ज उपमहानगर क्षेत्रमा अहिलेसम्म लगानी भइसकेको छ। सहरी विकास मन्त्रालयको एकीकृत सहरी विकास आयोजना(आइयुडिपी) अन्तर्गत २०७३/७४ मा करिब डेढ अर्ब बराबरको बजेटबाट नेपालगन्जको सडक, नाला, फोहोरमैला व्यवस्थापनलगायतका पूर्वाधार निर्माणमा खर्च भएको थियो।

यस्तै २०७४/७५ यता पनि एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) र क्षेत्रीय सहरी विकास आयोजना (आरयुडिपी) अन्तर्गत एसियाली विकास बैंक, सहरी विकास मन्त्रालय र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त लगानीमा साढे तीन अर्बको योजना सञ्चालन गरियो। आयोजनाको म्याद लम्बाएर अझै पनि थप बजेट खर्च गर्ने उपमहानगरपालिकाको योजना छ। आयोजना अझै सन् २०२० अगस्त १७  सम्म चल्नेछ। अर्बौं बजेट खर्च भइसक्दा पनि उपमहानगरपालिकाले बर्सेनि डुबान समस्याबाट मुक्ति भने पाउन सकेको छैन।

उपमहानगर क्षेत्रमा रहेका कतिपय पुराना ढल तथा नाला अतिक्रमणमा परेका छन्। पानी जम्मा हुने खाली ठाउँमा धमाधम घर निर्माण भइरहेका छन्। सडक छेउमा निर्माण गरिएका प्रायः नाला अवरुद्ध हुन पुगेका छन्। अतिक्रमित नाला खाली गर्न उपमहानगरपालिकाले ध्यान नदिएको बरु उल्टै जनप्रतिनिधिले अतिक्रमणकारीलाई संरक्षण गर्ने गरेको आरोप लाग्ने गरेको छ। अर्बौं बजेट खर्च गरेर आयोजना सञ्चालन भए पनि डुबान समस्या समाधान नहुँदा नेपालगन्जवासीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भनेझैं भएको स्थानीय बताउँछन्।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ एडिबीको लगानीमा निर्मित ढल तथा नाला प्रभावकारी नहुँदाको परिणाम नेपालगन्जले डुबान समस्या खेप्नु परिरहेको बताउँछन्। ‘त्यत्रो बजेट खर्च गरेर ढल र नाला निर्माण गरियो, तर नाला सफा नै गर्न नमिल्ने गरी ढक्कन राखिएको छ, कतै नालाको निकास सानो पारिएको छ, कतै निकास बन्द गरिएको छ, नालाभरि फोहोर र झारपात भरिएको छ,’ विकासका लागि नागरिक सरोकार समितिका संयोजक श्रेष्ठले भने, ‘नालामा कत्रो पानी बग्छ, त्यसको अध्ययन नगरिकनै हचुवाको भरमा डिजाइन गरी साँघुरा नाला निर्माण गर्ने काम भयो, अहिले त्यसैको परिणाम हामी भोग्दैछौं।’

डुबान ढल बस्ती नेपालगन्ज