समाज

तराईमा सुक्न थाले चापाकल

भैरहवा - जमिनमा पानीको सतह घटेसँगै भैरहवालगायत तराई क्षेत्रमा पानीको त्रास बढेको छ। २४सै महिना पानी आउने धारा, चापाकल, बोरिङलगायतमा कहीँ पानी आएको छैन भने कहीँ मुस्किलले आइरहेको बताइएको छ। मापदण्डविपरीत मेसिन प्रयोग गरी पानी निकाल्ने गरेकाले चापाकलमा पानी सुक्दै गएको छ। अनधिकृत रूपमा सञ्चालनमा रहेका बोरिङलाई सरोकारवाला निकायले ध्यान दिई नियन्त्रण गर्नुपर्ने भए पनि सिद्धार्थनगरभित्र त्यस्तो केही प्रक्रिया अघि बढेको छैन।

जमिनमुनिको पानी सुकेकै कारण छिमेकी स्थानीय तह रोहिणी गाउँपालिकाले गत साता नै बोरिङ सञ्चालनमा रोक लगाएको छ। सो क्षेत्रमा एक सय फिटभन्दा गहिरो मेसिन गाड्दा पनि पानी नआएको भन्दै गाउँपालिकाले सूचना जारी गरी बन्द गरेको हो।

‘गाउँपालिकामा पानीको समस्या भयो, जथाभावी बोरिङ सञ्चालन गरेकाले आवश्यक खानेपानीको समस्या बढ्दै गएपछि बोरिङमा रोक लगाइएको हो,’ गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले भने।

खानेपानीको समस्या आउनु भनेकै तराईमा खानेपानीको संकट बढ्नुको संकेत हो। असारको चौथो सातामा समेत मनसुन सक्रिय नहुने र खडेरी लम्बिँदै जाने हो भने तराईमा खानेपानीको संकट बढ्नसक्ने देखिएको छ। पश्चिम तराईको खानेपानीको मुख्य स्रोत चापाकल नै हो। जमिनमुनिको पानी चापाकलमार्फत निकालेर पिउने पानीको रूपमा वर्षौंदेखि प्रयोग गरिँदै आएको छ। खानेपानी संस्थानले सहरकेन्द्रित रूपमा मात्रै खानेपानीका पाइप बिच्छ्याएर निश्चित शुल्क लिएर पानी वितरण गर्दै आएको छ। तापनि सहरका अधिकांश घरधुरीले चापाकलमार्फत नै पानी निकाल्ने गर्दछन्। निःशुल्क रूपमा चाहिए जति पानी जतिबेला पनि निकाल्न सकिने भएपछि धेरैजसो सहरवासीले पनि खानेपानीको धारा जडान गरेका छैनन्।

असारको चौथो सातामा समेत मनसुन सक्रिय नहुने र खडेरी लम्बिँदै जाने हो भने तराईमा खानेपानीको संकट बढ्नसक्ने देखिएको छ।

भूमिगत पानीको मुख्य स्रोत चुरे क्षेत्र हो। चुरेमा भइरहेको अवैध उत्खनन र विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनका कारण भूमिगत पानीको स्रोत सुक्दै गएको वातावरण क्षेत्रका जानकारहरूको तर्क छ। ‘वातावरण बचाऔं’ आन्दोलनका अभियन्ता नारायण सापकोटाका अनुसार लामो खडेरी र प्राकृतिक स्रोतको अवैध दोहनको असर भूमिगत पानीको स्रोतमा देखिएको हो। उनले भने, ‘नदीमा नदीजन्य पदार्थको उत्खननको नाममा बढ्दै गएको दोहन र चुरे क्षेत्रमा विगतमा रिचार्ज हुने ठाउँमा विभिन्न नाममा भएको चुरेको उत्खननको प्रभाव देखिएको हो।’ सापकोटाले पहिले तराईमा ठूलाठूला आँपका बगैंचा तथा सडकको दायाँबायाँ हरियाली रहेकोमा अहिले चारैतिर उजाड भएको समेत सुझाए।

भूगर्भविद् उमेशचन्द्र रिजालका अनुसार ठूलाठूला घर बनाएर पानी निकाल्दै जानु, समयै वर्षा नहुनु र खानेपानी कार्यालयले पनि अत्यधिक गहिरो खनेर पानी निकाल्दा यस्तो समस्या भएको हो। खानेपानी क्षेत्रका जानकार हरिप्रसाद पोखरेल भन्छन्, ‘सरकारले तत्काल नीति बनाएर ठूलो पानी निकाल्नै दिनुहुन्न। सतहबाट चार इन्चसम्मको पानी निकालिरहेका छन्। सर्वसाधारणले बढीमा दुई सय फिट धसाउँदा उद्योगधन्दा चलाउनेहरूले ६ सय फिट गहिरो धसाउँछन्। यस्तै रहिरहे २० वर्षपछि जमिनमुनिको पानी पूरै सुकेर जानेछ।’

खानेपानी संस्थान कार्यालय भैरहवा शाखाका प्रमुख इन्जिनियर अजयकुमार साहले खानेपानी संस्थानको वितरणमा खासै समस्या नभए पनि ग्राहकको माग भने बढ्दै गएको बताए। पानी नपरेका कारण हेन्डपम्पमा पानी सुक्दै गएकाले संस्थानको पानीको माग बढेको उनले जानकारी दिए।

अनुमतिविना पानी तान्ने क्रम बढ्दो

तराईमा गैरकानुनी रूपमा पानी तान्ने क्रम बढ्दो छ। काठमाडौंमा केयुकेएलको अनुमति लिएर र काठमाडौंबाहिर खानेपानी कार्यालय र स्थानीय सरकारको अनुमति लिएर बोरिङ लगाउनुपर्ने प्रावधान छ। व्यापारिक प्रयोजनका लागि डिप ट्युबवेल राख्न खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ अनुसार लाइसेन्स पनि लिनुपर्ने हुन्छ तर तराईमा उद्योगधन्दा, कलकारखाना, ठूलाठूला होटल र सुपरमार्केटहरूले आपूmखुसी पानी निकालिरहेका छन्। सर्वसाधारणले बढीमा दुई इन्चसम्मको पानी निकाल्ने गरेकोमा उद्योगधन्दा, कलकारखाना, ठूलाठूला होटल र सुपरमार्केटहरूले चार इन्चसम्मको पानी निकालिरहेको स्थानीय बताउँछन्।

प्रकाशित: २४ असार २०७६ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App