समाज

कट्टा भएको मोही ब्युँतिने चिन्तामा २१ परिवार

सर्लाही - हरिवन बजारस्थित २१ परिवार ४५ वर्षअघि कट्टा भइसकेको जमिनमा पुनः मोही लाग्ने त्रासमा रहेका छन्। पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय मिटर दक्षिण हरिवन नगरपालिका–११ स्थित घर बनाएर बसेका तथा आफैंले खेती गरिरहेको जमिनमा अर्कैले पुनः मोही कायम गराउने त्रासमा उनीहरू परेका हुन्।

हरिवनका वलाइत मिया“को नाममा रहेको एक बिघा एक कट्ठा १० धुर जग्गामा मेजरमान घोलेको नाममा मोही रहेको र २०३१ सालमै कट्टा भइसके पनि पुनः मेजरमानका छोरा बीजबहादुरले मोही कायमको प्रक्रिया अगाडि बढाएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार २०३१ सालमा मोही कट्टा गराई २०३८ सालमा जमरुल हकलाई पुरै कित्ता बेचिएको थियो। जमरुलले २०५३ सालमा उक्त जग्गा प्लटिङ गरेपछि स्थानीय रामभरोस साहले १९ धुर तथा ताराकुमारी देवीले एक कट्ठा चार धुर चार कनुवा जमिन किनेका थिए। पतिपत्नीको नाता रहेका रामभरोस र ताराकुमारीले २० वटा सटर निकालेर घर बनाए र हाल उक्त सटर भाडामा लागिरहेको छ। घर बनाउन नविल बैंक र कृषि विकास बैंकबाट समेत सोही जमिन धितो राखेर उनीहरूले ऋण निकालेका छन्। बंैकले पनि मोही नभएकैले सो जमिन धितो राखेर ऋणसमेत प्रदान गरेको छ।

सरकारी कार्यालयमा भएका कागजात माओवादी द्वन्द्वकालमा जलेका र जग्गाको कारोबार तथा मूल्य बढेकाले भूमाफियाले आ“खा लगाई मोही कायम गराउने प्रयास गरेको जग्गाधनीहरू बताउँछन्।

तर गत फागुनमा बीजबहादुरले भूमि सुधार कार्यालय मलंगवामा २१ जना किसानको हरेक कित्ताको कुत बुझाउँदै उच्च अदालत जनकपुरमा समेत मोही कायमको माग गरी मुद्दा दायर गरेपछि ताराकुमारीसहित सबै परिवार चिन्तामा डुबेका छन्। ४५ वर्षअघि नै मोही कट्टा भइसकेको जमिनमा पुनः मोही कायम गराउन भूमाफियाले बीजबहादुरलाई उचालेको रामभरोसका छोरा एसकुमार बताउँछन्। ‘अहिले यहाँ कट्ठाको दुई करोड रुपैयाँमा किनबेच हुन थालेको छ,’ एसकुमारले भने, ‘त्यसैले भूमाफियाले कट्टा भइसकेको मोही पुनः ब्युँताउन प्रक्रिया अगाडि बढाएका छन्।’ भूमिसुधार कार्यालयका कर्मचारीले समेत भूमाफियाकै मिलेमतोमा बीजबहादुरसँग मोहीका लागि कुत बुझेको एसकुमारको आरोप छ।

भूमिसुधार कार्यालयका प्रमुख गोपालप्रसाद बराल कसैले कुत बुझाउँदैमा मोही कायम नहुने बताउँछन्। ‘हामीले कार्यालयमा रसिद काटेर पैसा नबुझेर केही फरक पर्दैन,’ बरालले भने, ‘कार्यालयमा नबुझे सेवाग्राहीले तत्काल बैंक खाताबाटै जम्मा गरिहाल्छन् नि।’

मालपोत कार्यालयमा भएका सबै कागजात २०६२ चैत २३ गते माओवादी आक्रमणमा आगो लागेर नष्ट भएपछि पुरानो फिल्डबुकको प्रमाणलाई आधार बनाउँदै यस्ताखाले प्रायशः जमिनमा मोही कायमको मुद्दा प्रक्रिया अगाडि बढेको भूमिसुधार कार्यालय स्रोतले जनाएको छ। सरकारी कार्यालयमा भएका कागजात जलेका र जग्गाको कारोबार तथा मूल्य बढेकाले भूमाफियाले आ“खा लगाई मोही कायम गराउने प्रयास गरेको जग्गाधनीहरू बताउ“छन्।

प्रकाशित: २४ असार २०७६ ०१:५६ मंगलबार

भूमाफिया मोही सरकारी_जमिन