समाज

बलात्कार र कर्तव्य–ज्यान मुद्दा फैसलामा ढिलाइ

दीपशिला र दीपिका भेटिएको माडी, मजुवास्थित पोखरी। तस्विरः सविता÷नागरिक

चितवन - माडी नगरपालिका–६ रामराज्यपुरका ११ वर्षीया दीपशिला परियार र नौ वर्षकी दीपिका सुनार २०७४ जेठ २० गते बाँदरमुढे खोलानजिक मजुवा वनभित्रको पोखरीमा मृत भेटिएका थिए। शनिबार साथीहरूसँग मिलेर वनभोज खान भन्दै उनीहरू वनमा गएका थिए। सँगै वनभोज गएका साथीहरू मध्याह्न फर्किए पनि उनीहरू नपछ परिवारले खोजी गरेका थिए।

पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछि दीपशिलाको शव भेटिएको थियो। हालसम्म रहस्यमय रहेको सो घटनासम्बन्धी मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ। हाल मुद्दामा के भइरहेको छ भन्नेबारे दिनेश बेखबर छन्। ‘पहिले सबै जुटेका थिए। साथ दिन्छम् भनेर धेरै संघ–संस्थाबाट आएका थिए, त्यही अनुसार हिँड्यिो,’ उनले भने, ‘पेसी हुँदा खबर गर्छम् भनेका थिए। धेरै भयो केही खबर आएको छैन।’

घटनापछि अनुसन्धान माग गर्दै ‘पोखरीमा डुबी भवितव्य ज्यान’ भनेर जेठ २० गते नै दीपिकाका दाइ अनिल सुनारले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि ‘पानीमा डुबेर मृत्यु’ भएको भन्दै दीपशिलाका काका समरबहादुर परियारले जाहेरी दिए। पछि दीपिकाकी आमा माया सुनारले जबर्जस्ती करणी गरी कर्तव्य–ज्यान मुद्दामा पाँचजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

घटनामा संलग्न रहेको आशंकामा माडी नगरपालिका–६ का असल भट्टराई, दीपक भट्टराई, सरोज भट्टराई र दुईजना नाबालकविरुद्ध किटानी जाहेरी दिइएको थियो। प्रहरीले २०७४ असार १८ गते जबर्जस्ती करणी र कर्तव्य–ज्यानअन्तर्गत अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा अदालत पुगेको दुई वर्ष नाघे पनि मुद्दाको किनारा लगाइएको छैन। मुद्दामा २३ पटकसम्म पेसी चढेको छ। पछिल्लो पटक असार १६ गतेलाई तोकिएको पेसी स्थगित भएको थियो। अहिलेसम्म जम्मा दुई पटकको पेसीमा मुद्दाका बारेमा छलफल भएको पाइन्छ।

पाँचपटक सरकारी वकिलको कार्यालयबाट, १२ पटक प्रतिवादीका कानुन व्यवसायीबाट मुद्दाको पेसी स्थगित भएको छ। एकपटक वादीको कानुन व्यवसायीबाट, इजलास नबसेको र इजलास नभ्याएको कारणबाट एक÷एकपटक पेसी स्थगित भएका छन्। सामान्यतया अदालतको रणनीतिक योजनाअनुसार मुद्दा दुई वर्षभित्र टुगिंनुपर्ने हुन्छ।

मुद्दामा अलि धेरै पटक प्रतिवादीका कानुन व्यवसायीले पेसी हटाएको सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता एवम् सूचना अधिकारी प्रकाश थापा बताउँछन्। सरकारी वकिलको कार्यालयको कार्य व्यस्तताका कारण पनि पेसी हटेको उनी स्विकार्छन्। केही जटिल प्रकृतिका मुद्दामा दुई वर्षभन्दा पनि बढी समय लाग्न सक्ने भएकाले यो मुद्दामा पनि ढिलाइ भएको उनले बताए।

मुद्दाका बारेमा बताउँदै उनले भने, ‘मुद्दा जटिल छ।’ यो मुद्दामा बुझ्नुपर्ने प्रमाण पनि धेरै थिए, धेरै बुझिएका पनि छन्।’ मुद्दामा किटानी जाहेर गरिएका तीन आरोपीविरुद्ध भएको थुनछेक बहसपछि न्यायाधीश सुवासबाबु पुरीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए। आरोपीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएपछि उच्चअदालतका न्यायाधीश सुष्मालता माथेमा र राज्यलक्ष्मी वज्राचार्यको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरी अभियुक्तहरूलाई तारेखमा छाडेको थियो।

वादी पक्षका अधिवक्ता गंगाबहादुर कोइरालाले घटना शंकास्पद भएको बताए। मुद्दाको मिसिलमा शव परीक्षण प्रतिवेदन, यौनसम्बन्धी शारीरिक परीक्षण प्रतिवेदन समावेश गरिएको छ। रिपोर्टमा बालिकाहरूको यौन अंगमा चोट लागेको उल्लेख छ। बालिकाको योनीबाट रगत बगेको, ओठ, कानमा चोट भएको पाइएको थियो।

प्रकाशित: २४ असार २०७६ ०१:३६ मंगलबार

बलात्कार कर्तव्य–ज्यान_मुद्दा फैसला