समाज

ट्रक पल्टिँदा एकको मृत्यु, सात गम्भीर घाइते

सल्यान – सल्यानमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सातजना गम्भीर घाइते छन्।

कपुरकोट गाउँपालिका–३, आगरखोलामा भएको ट्रक दुर्घटना हँुदा शिद्धकुमाख गाउँपालिका–२ बस्ने ५३ वर्षीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बस्नेतको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ।

रुकुम (पश्चिम)बाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ९७११ नम्बरको ट्रक सोमबार बिहान आगरखोलाको घुम्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यान प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

दुर्घटनामा सल्यान शिद्धकुमाख गाउँपालिका–२ का ६४ वर्षीय दलबहादुर बोहरा, बागचौर नगरपालिका–३ का ३२ वर्षीया गीता रेउले, कपुरकोट गाउँपालिका–५ का छबि विक, उनका ११ वर्षीय छोरा प्रविण विक, छत्रेश्वरी गाउँपालिकाका ४० वर्षीय नविना खत्री, उपेन्द्र रावल र तुलसीपुर उपमहानगरपालिका–५ का मानबहादुर पुन घाइते भएको डिएसपी शाहीले बताए।

घाइतेहरूलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ। ट्रक सडकबाट करिब ६० मिटर तल खसेको बताइएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ट्रक चालक तुलसीपुर उपमहानगरपालिका–५ का २६ वर्षीय ताराप्रसाद खड्का र सहचालक २० वर्षीय यज्ञबहादुर खड्का पनि दुर्घटनामा परेर सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

प्रकाशित: २३ असार २०७६ ११:५३ सोमबार

ट्रक_दुर्घटना मृत्यु गम्भीर_घाइते