समाज

नेपाल महिला संघमा बोहरा

डडेल्धुरा – नेपाल महिला संघको चौथो जिल्ला अधिवेशनले कलावतीदेवी बोहराको संयोजकत्वमा १७ क्रियाशील महिला सदस्य रहने गरी तदर्थ समिति गठन गरेको छ। केन्द्रीय परिपत्रअनुसार परशुराम नगरपालिका उपप्रमुख समेत रहेकी बोहरालाई संयोजक तोकिएको हो।

महिला संघ डडेल्धुराको अध्यक्ष पदमा विवाद छ। अध्यक्षमा कमला विष्ट र मानकुमारी थापाले अध्यक्ष दाबी गरिरहेका थिए। सोही विवाद समाधानका लागि केन्द्रीय महासचिव मञ्जु खाँण र कोषाध्यक्ष जानकी सिंहलाई पठाइएको थियो। उनीहरूले दुवै नेतृहरुको विकल्पमा बोहरालाई अगाडि बढाएका हुन्।

बोहरालाई संयोजक तोकी अधिवेशन सम्पन्न गर्ने, संगठन विस्तार गर्ने लगायतका महिला संघका कार्यक्रमलाई अगाडि बढाई संघलाई गतिशीलता दिने अधिकारसमेत दिइएको छ। यसपछि विवाद अझ उचाइमा पुगेको छ।

प्रकाशित: २३ असार २०७६ ११:२९ सोमबार

जिल्ला_अधिवेशन नेपाल_महिला_संघ