समाज

नेपाली सेनाले बनायाे खानेपानी ट्याङ्की र सत्तल

भक्तपुर – नेपाली सेनाको वीर दल गणले सूर्यविनायक नगरपालिका–९, पलासेस्थित पञ्चकन्या मन्दिर परिसरमा पाँच हजार लिटर क्षमताको खानेपानी ट्याङ्की र सत्तल निर्माण गरेको छ।    

नेपाली सेनाका उपत्यका पृतनापति नीरञ्जनकुमार श्रेष्ठ र सांसद महेश बस्नेतले आज संयुक्तरुपमा सो नवनिर्मित खानेपानी ट्याङ्की र सत्तल उद्घाटन गरे। सो अवसरमा सांसद बस्नेतले सूर्यविनायकलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आन्तरिक एवं वाह्य पर्यटनको आकर्षणका रुपमा लैजाने बताए।

उनले आफू मन्त्री हुँदा पहिलो महिनाको तलब दिएर निर्माण सुरु भएको पञ्चकन्या मन्दिर परिसरमा अहिले नेपाली सेनाले पानी ट्याङ्की र सत्तल निर्माण गरेर हस्तान्तरण गर्नु गर्वको कुरा भएको बताए। पृतनापति श्रेष्ठले नेपाली सेनाले सामाजिक उत्तरदायित्वको काम पनि इमान्दारीपूर्वक गर्दै आएको बताए।

वीर दल गणका गणपति शिव पौडेलले मन्दिरमा मात्रै नभई खानेपानीको अभाव रहेको पलासेको स्थानीय बासिन्दालाई समेत खानेपानी वितरणमा सहज हुने गरी पाँच हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको जानकारी दिए।

करिब ६ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त संरचनाका लागि नेपाली सेनाको छिटो सम्पादन गर्ने योजनाअन्तर्गत एक लाख ५० हजार, वीर दल गणको ६० हजार रुपैयाँ तथा वडा कार्यालयको सहयोग र नेपाली सेनाको श्रमदानमा सो पानी ट्याङ्की र सत्तल निर्माण गरिएको उनको भनाइ छ। सो पानी ट्याङ्की र सत्तल आज पञ्चकन्या मन्दिर विकास समितिलाई हस्तान्तरण गरिएको पनि उनले जानकारी दिए। रासस

प्रकाशित: २३ असार २०७६ ०८:५९ सोमबार

नेपाली_सेना खानेपानी सत्तल निर्माण