समाज

अन्धविश्वासका पछि नलाग्न क्यान्सर विशेषज्ञको सुझाव

काठमाडौं - कसैलाई क्यान्सर भयो कि प्रायः कुनै न भ्रमपूर्ण उपचारको चर्चा चल्ने गर्छ। कोही जमराको जुस, गोमूत्र वा गाँजाको जमराको कुरा गर्छन्। क्यान्सरका बिरामी यस्ता भ्रमपूर्ण कुराले बहकिँदा गलत उपचारमा पुग्ने गरेको क्यान्सर विशेषज्ञ बताउँछन्।

शुक्रबार राजधानीमा भारत तथा नेपालका प्रमुख क्यान्सर अस्पतालबाट भेला भएका विशेषज्ञहरुले भ्रमको पछि नलाग्न आग्रह गरे। कतिपय बिरामी हल्लाकै पछि लागेर गोमूत्र र जमराको जुसको भर पर्दा सुरुवाती अवस्थाको क्यान्सर बिग्रेर जाने नेपाल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठ बताउँछन्।

क्यान्सर रोग र उपचार बारे समाजमा थुपै्र भ्रम रहेको कारण बिरामी अन्यौलमा पर्ने, गलत उपचारमा पुग्ने र बीचैमा उपचार छोड्ने समस्या देखिएको चिकित्सकहरुले औंल्याए। ‘किमोथेरापी लिइरहेका बिरामीले जमराको जुस खानु हुँदैन। यसले निको हुनुको सट्टा उल्टै फंगल इन्फेक्सन हुन्छ,’ डा. विशेष पौडेलले भने। उनले रगतको क्यान्सर निको हुन्न भन्ने भ्रम समाजमा अहिले पनि रहेको र एकदुईबाहेक सबै रगतको क्यान्सर उपचारपछि निको हुने बताए। ‘बालबालिकामा हुने रगतको क्यान्सर पूर्ण रुपमा निको हुन्छ,’ उनले भने।

नेपालमा पछिल्लो पटक कतिपय बिरामीहरु हल्लाको पछि लागेर निको हुने क्यान्सर पनि छिप्पिएर मृत्युवरण गर्नु परेको घटना उनीहरुले औंल्याए। अहिलेसम्म क्यान्सर रोग सुरुकै अवस्थामा उपचार गरेमा शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापीजस्ता उपचार पद्धतिबाटै निको भएको सयौं तथ्य चिकित्सक सामु रहेकाले यो रोगको विषयमा आउने भ्रमको पछि नलाग्न उनीहरुले सुझाए।

कार्यक्रममा फोक्सो क्यान्सर विशेषज्ञ डा. एमके पियाले धुमपानले क्यान्सर हुने कुरा थाहापाएपछि गुट्खा तथा पानको लतमा मान्छहरु लागेको बताए। यी पदार्थले पनि अन्य किसिमको क्यान्सर हुने भएकाले यस्ता पदार्थहरु सेवन नगर्न सुझाए।

त्यसै गरी क्यान्सरको बिरामीले गुलियो खानु हुन्न, गाँजाले निको हुन्छ, मर्फिन दिनु हुन्न, मर्फिनले लत बस्छ, क्यान्सर रोग सर्छ, क्यान्सरमा किमोथेरापी दिनु हुन्न यसले छिटो मृत्यु हुन्छ भन्ने लगयातका भ्रम रहेको विशेषज्ञहरुले बताए।

कार्यक्रममा टाटा मेमोरियल क्यान्सर अस्पताल मुम्बई र राजीव गान्धी क्यान्सर अस्पताल दिल्ली, वीर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेसनल क्यान्सर अस्पताललगायत विभिन्न अस्पतालका मेडिकल अन्कोलोजिस्टहरु भेला भएका थिए।

प्रकाशित: २३ असार २०७६ ०२:२२ सोमबार

क्यान्सर अन्धविश्वास