समाज

बाणिज्य बैंक गोरखाका म्यानेजरसहित ६ कर्मचारी बिदामा, सेवाग्राहीलाई सास्ती

गोरखा– राष्ट्रिय बाणिज्य बैंक गोरखा शाखाका प्रबन्धक कपिल कार्कीसहित ६ जना कर्मचारी बिदामा बसेपछि सेवा प्रभावित भएको छ। आइतबार बैंकमा बिहान १० बजे सेवा लिन पुगेकाहरुले दिउँसोसम्म सेवा नपाएको गुनासो गरे। बाणिज्य बैंकका आधिकारीक कर्मचारी बसेर सेवा दिने कुर्सीमा सिकारु (प्रशिक्षार्थी) ले ढिलो गरी बैंकका कर्मचारीलाई सोधखोज गर्दै सेवा दिइरहेका थिए। 

सहायक स्तरका कर्मचारीहरु इश्वर खड्का, उर्मिला मालबुल, अनुजा (अधिकारी) पाण्डे, कमला गुरुङ, उमेशप्रसाद यादव बिदामा छन्। सबैजना अध्ययनका लागि शुक्रवारदेखि नै बिदा बसेका हुन्। परीक्षाको तयारीका लागि गएकाले बुधवार मात्रै उनीहरु कार्यालय आउने बैंकले जनाएको छ। यी कर्मचारीले गर्ने काम बाँकी कर्मचारी र प्रशिक्षार्थीले गर्दा दोहोरो भार परेको छ। 

गोरखा नगरपालिका ५ मा देवी माइटोलबाट योजनाको खाता खोल्न र पैसा जम्मा गर्न बिहान १० बजेतिर आएका गोमा थापाले साँढे २ बजे दिउँसो बैंकभित्र भेटिँदा अझै काम नसकिएको बताइन्। कार्यालयबाट उठ्ने राजस्व जम्मा गर्ने, असार अन्तिम समय भएकाले काम फर्स्यौट गरी भुक्तानी लिने, शिक्षा सेवा आयोगमा अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा फारम भरेपछि दस्तुर बुझाउनको बैंकमा लर्को थियो। असारको अन्त्यसम्म सरकारी बैंक भएकाले अन्यको तुलनामा बाणिज्य बैंकमा भिड हुन्छ। भिड हुने समयमा कर्मचारी धेरै बिदामा बसेपछि सेवा लिन समस्या भएको आइतबार बैंकमा सेवा लिँदै गर्दा भेटिएका जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका मानप्रसाद धितालले बताए। ‘सिक्न आएकाहरुले यस्तो भिड भएका बेला सिक्दै सेवा दिएर ढिलो भयो, गल्ती भयो भने कर्मचारीलाई पनि समस्या सेवाग्राहीलाई पनि सास्ती हुने भो’, उनले गुनासो गरे। 

बैंकका सहायक शाखा प्रबन्धक सुजन क्यापछाकी मगरले भने, ‘लोन, पेन्सनको काम अहिले भएको छैन, त्यहाँका कर्मचारीबाट सेवा दिएका छौं, सेवा प्रभावित भएको छैन, केही ढिलो भएको होला।’ कर्मचारी अध्ययन बिदाका लागि गएकाले प्रशिक्षार्थीबाट काम चलाएको उनले बताए। 

आर्थिक वर्षको अन्त्यतिर काम गर्ने र भुक्तानी दिने परिपाटीले सरकार अड्डादेखि भुक्तानी लिने बैंकसम्म सर्वसाधारणको चाप अत्याधिक हुन्छ। तर योमध्ये सिजनमा कर्मचारी नहुँदा सरकारी बैंकको सेवाप्रति सर्वसाधारणको गुनासो अत्याधिक आउने गर्छ। गुनासो आए पनि अधिकांश सरकारी कारोवार बाणिज्य बैंकबाट गर्ने परिपाटीले सेवा र कर्मचारीको काम गराईमा सुधार नआएको गुनासो सेवाग्राहीको छ। १३ जनाको दरबन्दी रहेको बाणिज्य बैंक गोरखा शाखाबाट काम ढिलो भएको गुनासो पहिलो पटक होइन।

प्रकाशित: २२ असार २०७६ १२:१७ आइतबार

राष्ट्रिय_बाणिज्य_बैंक गोरखा कर्मचारी_बिदामा सेवाग्राही सास्ती