समाज

प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिए राउटे

वृक्षारोपण गर्दै राउटे समुदायका युवा–युवती। नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत– राउटे मुखिया सूर्यनारायण शाहीले दैनिक ज्यालादारीमा काम गरौंला भन्ने कल्पनासम्म गरेका थिएनन्। खेतीपाती नगर्ने, एकै ठाउँमा नबस्ने, लेखपढ नगर्ने यो समुदाय अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडिएको छ।

राउटे समुदायका लागि ज्याला मजदूरी गर्नु रहर हैन्, बाध्यता हो। नजिकै संक्रान्ति आउँदैछ। साउन एक गतेको कर्कट संक्रान्ति राउटेहरुको दोस्रो ठूलो पर्व हो। महिनामा दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन्। बनाएका काठका भाँडाकुँडा पनि विक्री हुन छोडेका छन्। ‘भत्ताले खान पुग्दैन्, काठका भाँडाकुँडा विक्री हुन छोडे’ मुखिया शाहीले भने, ‘रहरले हैन् बाध्यताले पहिलो पटक ज्यालादारी काममा लागेका हौं।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई वृक्षारोपण र गोरेटो बाटो निर्माणमा लगाएको छ। राउटेलाई यो काममा लगाउन सुरुमा गाउँपालिकालाई ठूलै संघर्ष गर्नुप¥यो। ‘एक सातासम्मको निरन्तरको मेहनतपछि उनीहरु प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वृक्षारोपण गर्ने र गोरेटो बाटो निर्माण गर्ने काममा राजी भए’ गाउँपालिका अध्यक्ष खेमराज वलीले भने, ‘हालसम्म रुखमात्रै काट्दै आएका राउटे समुदायलाई रुख रोप्न लगाउँदा ठूलै सफलता प्राप्त गरेजस्तो भएको छ।’

राउटे समुदायका ५२ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी छन्। राउटेले एक दिन काम गरेवापत दैनिक पाँच सय १७ रुपैयाँ पाउँछन्। ‘ढिलोगरी कार्यक्रम सुरु भएकाले राउटे समुदायलाई नौ दिनसम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी गराउँछौं’ रोजगार कार्यक्रम संयोजक मोहन पौडेलले भने, ‘१९ गतेदेखि सुरु भएको कार्यक्रम २७ गते समापन हुन्छ।’ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गाउँपालिकाले राउटे समुदायका लागि दुई लाख ५० हजार रुपैयाँ छुट्याएको छ।

राउटे समुदाय प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएपछि यो कार्यक्रम गुराँसमा प्रभावकारी देखिएको छ। ‘जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायलाई पहिलोपटक काममा लगाउन सफल भयौं, उनीहरुको कामप्रतिको लगनशिलता र मेहनतले यस्तैखाले अरु कार्यक्रम सञ्चालन गर्ने प्रेरणा मिलेको छ’ अध्यक्ष वलीले भने, ‘अब प्रधानमन्त्री रोजगार कार्यक्रममा साथै गाउँपालिकाबाट पनि रोजगारका कार्यक्रम राउटे समुदायका लागि सञ्चालन गछौं।’

राउटे समुदायले वृक्षारोपण मात्रै होइन्, गोरेटो बाटो निर्माण गरिरहेका छन्। गुराँस गाउँपालिका–५ स्थित ठाँटीमा बस्दै आएका राउटे समुदायले एकै दिन डेढ किलोमिटर गोरेटो बाटो निर्माण गरे। गाउँपालिकाले राउटेले निर्माण गरेको सडकलाई ‘राउटे पदमार्ग’ नामाकरण गरेको छ। सुरुमा बाध्यताले वृक्षारोपण र बाटो निर्माणमा लागेका राउटे समुदायले यस्तै कार्यक्रमहरु वर्षभरी सञ्चालन गर्न माग गरेको छ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमले जीवन निर्वाह गर्न सहज हुने देखियो’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘यस्तै कार्यक्रम वर्षभरी भइदिए जीवनयापन गर्न सहज हुने थियो।’ पछिल्लो समय समुदाय नजिकै बस्न थालेको राउटे र अन्य समुदायबीच प्राकृतिक स्रोतको उपयोगका विषयमा द्वन्द्व बढ्दो छ।

‘समुदायले संरक्षण गर्दै आएका समुदायिक वनहरुमा राउटे समुदायले रुखहरु काट्ने गर्नाले दुई समुदायबीच बेलाबेलामा द्वन्द्व हुने गरेको छ’ राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक)का अध्यक्ष हिरासिंह थापाले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता अन्य कार्यक्रमहरु पनि वर्षभरी राउटे समुदायमा सञ्चालन गरिए वन विनास रोकिनुका साथै उनीहरुको जीवनयापनमा पनि सहजता आउँछ।’

प्रधानमन्त्री रोजगार कार्यक्रममा राउटे युवा मात्रै होइन्, महिलाहरु पनि सहभागी छन्। ‘सुरुका दुई दिनमा महिलाहरु कार्यक्रममा सहभागी बनेनन्, दिनभरी काम गरेर साँझ पैसा पाइने भएपछि महिलाहरु पनि सहभागी हुन थाले’ रोजगार कार्यक्रमको सहजिकरण गरिरहेका सोसेकका अध्यक्ष थापाले भने, ‘राउटे समुदायको सामाजिकीकरणका लागि यो महत्वपूर्ण खुड्किलो पनि हो।’ राउटे समुदायका ४६ घर छन्। उनीहरुको जनसंख्या एक सय ४६ छ। 

प्रकाशित: २१ असार २०७६ १२:४६ शनिबार

राउटे प्रधानमन्त्री_रोजगार_कार्यक्रम