समाज

खाजाको पैसा बचाएर सिलाइ मेसिन

सिलाइ मेसिन हस्तान्तरण गर्दै नगरप्रमुख। तस्बिरः नागरिक

गोरखा– गोरखा नगरपालिका–४, फिनाममा वडा कार्यालयले विनियोजन गरेको दुई लाख रुपैयाँले तीनमहिने सिलाइकटाइ तालिम सुरु भयो। सहभागी १७ जना गरिब, विपन्न र बेरोजगार महिलाहरुलाई छनोट गरियो।

सहभागीले दैनिक ५० रुपैयाँ खाजा खर्चबापत् पैसा वा खाजा पाउँथे। उनीहरू तालिमपछि आफैँ सिलाइ मेसिन किनेर सिलाइकटाइ गर्ने सोचमा थिए। तर, एकाएक सहभागीको सोच बदलियो। उनीहरूले दैनिक ५० रुपैयाँ खाजा लिएनन्। बरु त्यो पैसाले मेसिन लिने सोच बनाए।

सिलाइकटाइमा अभ्यस्त बन्ने महिलाहरूको उत्साह देखेर नगरपालिकाले ५० हजार रुपैयाँ तत्काल थप गरिदियो। दुई लाख ५० हजार बजेटबाट तीन महिना सिलाइकटाइ सिकाउन पुगे पनि हरेकलाई एक–एक वटा मेसिन दिन भने सम्भव थिएन।

वडा कार्यालयले पुनः तीन लाख विनियोजन गरेर पाँच लाख ५० हजार बजेटबाट सबैलाई एक मेसिन उपलब्ध गराएको वडाध्यक्ष खोपबहादुर अधिकारीले बताए। वडाभरिका सरकारी विद्यालय वा विभिन्न संघसंस्थाका लागि चाहिने पोसाक सिलाउन प्रोत्साहित गर्ने उनले बताए। नगर प्रमुख राजनराज पन्तले सहभागीहरुलाई मेसिन हस्तान्तरण गरे।

प्रकाशित: २१ असार २०७६ ०७:५६ शनिबार

सिलाइ_मेसिन तालिम गोरखा_नगरपालिका