समाज

न्यूनचापीय रेखा मध्य भारतमै, अझै केही दिन मनसुन सक्रिय नहुने

काठमाडौं – असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन्। न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताए। मनसुन ट्रस्ट भारतको मध्य भू–भागमै रहेको छ। ‘उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ,’ मौसमविद् पोखरेलले भने।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ। त्यस्तै आज सबै भन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस छ। रासस

प्रकाशित: २१ असार २०७६ ०६:३० शनिबार

मनसुन सक्रिय न्यूनचापीय_रेखा मध्य_भारत