समाज

पाठशाला नेपालका सिर्जनशील विद्यार्थीहरू

काठमाडौँको नयाँ वानेश्वरस्थित पाठशाला नेपाल फाउन्डेसन विसं २०६१ सालमा खुलेको शैक्षिक संस्था हो। यसको एउटा शाखा लतितपुर जिल्लाको बागडोलमा पनि छ। हाल यहाँ कक्षा एकदेखि कक्षा दशसम्म पढाइ हुन्छ। वानेश्वरस्थित पाठशालामा ६ सय विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक अनिताकुमारी तामाङका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनशील सिप विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यहाँ अध्ययनरत केही विद्यार्थीसँग ‘जूनकीरी’का श्रीराम राईले कुराकानी गरेका छन् :

साहित्य    
अनाहिता अधिकारी, कक्षा –९

म कथा, कविता, चिठी र निबन्ध लेख्छु। अहिले रामप्रसाद ज्ञवाली, धर्म पोखेरेलजस्ता गुरुहरूले लेखेका पाठ्यपुस्तक पढ्न पाउँदा आनन्द लागेको छ। हाम्रो विद्यालयमा प्रत्येक वर्ष नेपाली हिज्जे प्रतियोगिता हुन्छ। मैले विद्यालयको नेपाली हिज्जे प्रतियोगितामा प्रथम, कथालेखन प्रतियोगितामा प्रथम, हस्तलेखन प्रतियोगितामा द्वितीय र भानुजयन्तीमा आयोजित कविता प्रतियोगितामा तृतीय पुरस्कार पाएकी छु। साहित्यले कल्पना क्षमताको विकास गर्न, लेखाइमा सुधार ल्याउन र आफ्नो विचार अरूसामु प्रस्तुत गर्न सहयोग पु¥याउँछ। राम्रो काम गर्न प्रेरणा दिन्छ। प्रतिस्पर्धाका युगमा सफलता हासिल गर्न किताबी ज्ञानले मात्रै पुग्दैन। त्यसैले बाहिरी ज्ञानका लागि साहित्य अनिवार्य छ। म  महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, युगकवि सिद्धिचरण श्रेष्ठ, रामप्रसाद ज्ञवाली र झमक घिमिरेजस्तै लेखक बन्न चाहान्छु।  

नृत्य    
मिनम पोखरेल, कक्षा – ८

मैले सानैदेखि नृत्य देखाउने मौका पाएँ। मैले कक्षा– २ मा हुँदा नृत्य प्रस्तुत गरेँ। बाबामामुले नृत्य प्रतिस्पर्धामा भाग लिन लगाउनुभयो। विद्यालयले विभिन्न ठाउँमा सहभागी हुने अवसर दिलायो। जिउ हल्लाएर मात्र नृत्य हुँदैन। राम्रो नृत्य गर्न निरन्तर अभ्यास गर्नुपर्छ। मैले नृत्यबाट विभिन्न पुरस्कार पाएकी छु।
नृत्य मनोरञ्जनको भरपर्दो स्रोत हो। नृत्य एक प्रकारको व्यायामै हो। नृत्यले तन्दुरुस्त र फुर्तिलो रहन सहयोग पु¥याउँछ। फुर्सद हुनासाथ युट्युब र टेलिभिजन हेरेर राम्राराम्रा नृत्य हेरेर नाच्ने अभ्यास गरिरहन्छु। नाचेर कहिल्यै अघाउन्नँ। मेरो नृत्यमा निखार ल्याउन गुरु गुरुआमाहरू मोहन व्यञ्जनकार र मजुना डङ्गोलको ठुलो भूमिका छ। म नेपाललाई नृत्यबाट चिनाउन चाहन्छु। म माधुरी दीक्षित र तेरिया मगरजस्तो बन्न चाहान्छु।  

उद्घोषण
नस्वाः जोशी, कक्षा –१०

सानैदेखि उद्घोषणमा रुचि थियो। विद्यालयले कक्षा–१ देखि नै उद्घोषण गर्ने अवसर दियो र अभ्यास गर्दागर्दै डर हराएर गयो। उहाँहरूको प्रोत्साहनले ममा उत्साह बढ्दै गयो। उद्घोषण आफैंमा सुन्दर कला हो। कार्यक्रम आकर्षक र रोचक बनाउन उद्घोषणको महŒवपूर्ण भूमिका हुन्छ। बोलेरै आफ्नो पहिचान बनाउन सकिन्छ। ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भनेझैँ आफ्ना कुरा राम्ररी प्रस्तुत गर्न सकियो भने धेरै ठाउँमा सफलता हासिल गर्न सकिन्छ।
उद्घोषण नै दिक्कलाग्दो भयो भने कार्यक्रम असफल हुन्छ। त्यसैले बोल्ने शैलीको विकास गर्न निरन्तर अभ्यास गर्नुपर्छ। मैले क्यापिटल एफएममा नेपाल भाषामा ‘म्युजिक एक्प्रेस’ नामक कार्यक्रम चलाएकी छु। विद्यालयमा आयोजित विभिन्न प्रतियोगितमा राम्रो उद्घोषण गरेर प्रंशसा बटुलेकी छु। नेपाली चलचित्र ‘आधी बाटो’, ‘सुनगाभा’,‘विटविन मतिना’ लगायतमा अभिनय गरेकी छु। विसं ०७४ मा ‘विटविन मतिना’ चलचित्रको भूमिकाबाट ‘उत्कृष्ट बालकलाकार’ सम्मान पनि पाएकी छु। पाण्डव सुनवार र सुनिता डङ्गोल जस्तो लोकप्रिय हुने मेरो लक्ष्य छ।

गायन
आयुष्मा पन्थ, कक्षा–८

गीत गाउने सानैदेखिको रुचि होइन। म आलोक विद्याश्रम ज्ञानेश्वरमा कक्षा–३ मा हुँदा गायन प्रतियोगितामा दोस्रो भएकी थिएँ। सरम्यामहरूले तिम्रो राम्रो स्वर रहेछ, अभ्यास गर, पछि यही क्षेत्रमा राम्रो गर्न सक्छ्यौ भन्नुभयो। त्यसपछि गायनप्रति रुचि बढ्दै गयो। आमाबाबुले घरमा पाहुना आउँदा गीत गाउन लगाउनुहुन्थ्यो। पाहुनाहरूले ‘नानूको कति मिठो स्वर रहेछ अझै गाऊ न’ भन्नुहुन्थ्यो। मलाई संवेदनायुक्त गीतहरू गाउन मन लाग्छ। गीतले पट्यारलाग्दो वातावरणमा पनि फुर्तिलोपन बढाउँछ। शब्दका माध्यमबाट आफ्ना  भावनाहरू राम्ररी व्यक्त गर्न सकिन्छ। गीतले कार्यक्रमको शोभा बढाउँछ। गीत गाउँदा आनन्द महसुुस हुन्छ। मैले विभिन्न ठाउँमा गीत गाएर पुरस्कार जितेकी छु। रामप्रसाद ज्ञवालीले लेख्नुभएको ‘आमा’ बोलको गीतमा दामोदर अधिकारीको सङ्गीत छ भने मेरो स्वर। सबैको प्रशंसा पाउँदा सोच्छु, ‘कहिले हुँला म अरुणा लामा, तारादेवी र नारायण गोपाल जस्तो लोकप्रिय ?’

चित्रकला
न्हूजः राय, कक्षा –१०

म स्कुल भर्ना हुनुअघिदेखि नै चित्रकलामा लागेको हुँ। सुरुमा कल्पनाबाट चित्र बनाएँ। म महान् मान्छे, गायक र प्रेरणदायी व्यक्तिको मुखाकृति कोर्ने गर्छु। कक्षा –८ मा हुँदा राजर्षि गुरुकुल सल्लाघारीमा सहभागी हुँदा तेस्रो भएको थिएँ। मैले त्यतिबेला गणेशको मूर्ति बनाएको थिएँ। स्कुलमा मलाई धेरैले चित्रकार भनेर चिन्छन्। मैले बनाएका चित्रहरूले घर र स्कुल सजाइएको छ। चित्रकलाले कल्पनाशील हुन सहयोग पु¥याउँछ। मनलाई शान्ति दिलाउँछ। एकैतिर ध्यान केन्द्रित गराउँछ। जनचेतना जगाई सभ्य समाज निर्माण गर्न सहयोग पु¥याउँछ। चित्रकलालाई बाँच्ने आधारका रूपमा अगाडि बढाउने लक्ष्य छ। मैले विभिन्न प्रतियोगितामा चित्र बनाएर पुरस्कार जितेको छु। आशा डङ्गोल, एलिना ताम्राकार, सन्तोष राई र सुन्दर लामा मेरा लागि प्रेरणादायी अभिभावक हुनुहुन्छ। म चित्रकला र पढाइलाई सँगै लैजाने छु। लियोनार्दो दा भिन्चीजस्तो विश्वविख्यात चित्रकार हुने मेरो लक्ष्य छ।

खेलाडी
 तरुण भण्डारी, कक्षा –९

मलाई खेलकुद क्षेत्र धेरै मन पर्छ। म सुरुमा पौडीको सौखिन थिएँ। तर, अहिले खेलकुदलाई पेसा बनाउने लक्ष्य लिएको छु। यसले राम्रो करियर बनाउन मदत पु¥याउँछ। यसले ज्ञानी हुन सहयोग पु¥याउँछ। खेलकुदले सबैलाई आदरसम्मान गर्न सिकाउँछ।  स्वस्थ रहन सहयोग पु¥याउँछ। खेलकुदले अनुशासित र सिर्जनशील बनाउँछ। यसले दिमाग तेजिलो बनाउँछ। खेलकुदबाट मनोरञ्जन प्राप्त हुन्छ। त्यसैले विद्यार्थीहरूका लागि खेलकुद आवश्यक छ। नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीतर्फ रिले फ्रि स्टाइल पुरुष प्रतियोगितामा प्रथम, आयाम पुरुष रिले पौडी प्रतियोगितामा प्रथम, २०० मिटर फ्रि स्टाइल पुरुष पौडी प्रतियोगितामा द्वितीय र ५० मिटर ब्याक स्ट्रोकमा तृतीय स्थान प्राएको छु। मेरो लक्ष्य अनुभव सुब्बा, गौरिका सिंह, शिरीष गुरुङ र शुभम् श्रेष्ठ जस्ता पौडीबाज हुने छ।  

खेलकुद (फुटबल)
प्राञ्जल बस्नेत, कक्षा –७

म फुटबल भन्नेबित्तिकै हुरुक्क हुन्छु। मलाई सानैदेखि फुटबलमा असाध्य रुचि थियो। विद्यालयका गुरुले राम्रो गर्दै जाऊ भन्नु हुन्छ। खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यस्तै खेलकुदले स्वस्थ रहन र ज्ञानवृद्धिमा पनि मद्दत पु¥याउँछ। फुटबलजस्ता खेलहरूमा एकल प्रयासले मात्र केही हुन्न, सामूहिक प्रतिबद्धता चाहिन्छ। विद्यालयले गरेको प्रतियोगितामा हाम्रो समूह द्वितीय भएको छ। त्यस्तै उपत्यकाव्यापी विद्यालय स्तरीय प्रतियोगितामा हाम्रो समूह तृतीय भएको छ। भविष्यमा पारस खड्का, सन्दिप लामिछाने, सुवास तामाङजस्तै कुशल खेलाडी बन्ने मेरो लक्ष्य छ।  

सङ्गीत
विजय सारु मगर, कक्षा – ९  

आमाबाबुले मलाई गितार किनिदिनुभएको छ। म खाली समयमा मनोरञ्जनका लागि गितार बजाउने गर्छु। मैले विद्यालयको कार्यक्रम पाठशाला साँझमा गितार बजाएको छु। कहिलेकाहीँ व्यस्त हुँदा पनि समय छुट्टयाएर गितार बजाउने गर्छु। मैले २÷३ वर्षअघि साधना कला केन्द्र, पुतली सडकबाट सङ्गीतको तालिम पनि लिएको छु। अभिभावकले बालबालिकाको रुचि बुझेर सहजीकरण गरे अगाडि बढ्न सजिलो हुने रहेछ। म गायनले पढाइ बिगार्छ भन्ने कुरा पत्याउँदिनँ। कतिले गायनबाटै करियर बनाएका छन्। गीत गाउँदा गाउने र सुन्ने दुवै पक्षलाई आनन्द प्राप्त हुन्छ। तनाव र व्यस्तता बढिरहका बेला गीतको महŒव बढ्दै गएको छ। गीतले संयम, शान्त र फुर्तिलो रहन सहयोग पु¥याउँछ। मलाई अमर गुरुङ, नाति काजी, शम्भुजित बाँस्कोटा, तारादेवी, नारायण गोपाल, शिव परियारजस्तो लोकप्रिय हुने रहर छ।

साहित्य
लिबर्टी दाहाल, कक्षा –६

विद्यालय भनेको लेखपढ गर्ने ठाउँ मात्रै होइन। जीवनलाई सार्थक पार्न अनेक खाले सिप सिक्ने ठाउँ पनि हो। मैले विद्यालयलाई यही रूपमा लिएकी छु। आफ्नो प्रतिभा उजागर गर्न कविताको माध्यम रोजेकी छु। मैले कक्षा–५ मा कविता प्रतियोगिता हुँदा दोस्रो पुरस्कार हात पारेकी छु। कविताको माध्यमले छिट्टै अरूको ध्यान तान्न सकिन्छ। कक्षाकोठामा पढिने गणित र विज्ञानका कुराहरूलाई समेत कविताको रूप दिएर कण्ठ गर्न सकिन्छ। त्यसैले मेरो विचारमा कविताको अति महŒव छ।

प्रकाशित: २१ असार २०७६ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App