समाज

सिसी क्यामेरा जडानपछि लापरवाही गर्ने घटे

काठमाडौं - लापरवाही र नियम उल्लघंन गरी सवारीसाधन चलाउने चालकहरू सिसी क्यामेरा जडानपछि निकै हदसम्म तह लागेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सञ्चालनमा ल्याएको सिसी क्यामेराको प्रयोग प्रभावकारी बन्दै गएको छ। सिसी क्यामेरा जडानपछि काठमाडौं महानगरमा सवारी दुर्घटनाको सङ्ख्या घट्न थालेको छ।

सिसी क्यामेरा जडान गरेसँगै ट्राफिक प्रहरीको आँखा छलेर लाइन मिच्ने, जथाभावी बाटो काट्ने सवारीचालक कारबाहीको दायराबाट उम्किन नपाएको महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाको मुख्य–मुख्य क्षेत्रमा पाँच सय १४ वटा सिसी क्यामेरा सञ्चालन गरेको छ। क्यामेराको नियन्त्रक कक्ष प्रहरी कार्यालय रानीपोखरीमा राखिएको छ। तीमध्ये एक सय ५१ वटा सिसी क्यामेरा ट्राफिक महाशाखाले हेर्न मिल्ने गरी जडान गरिएको छ।

महाशाखाका अनुसार सिसी क्यामेराले खिचेको दृश्यमा सवारीचालकले कहाँ, कसरी र कति समयमा नियम उल्लघंन गरेको हो, सबै विवरण प्रस्तुत हुन्छ। सिसी क्यामेराले खिचेको त्यही श्रव्य–दृश्यका आधारमा नियम मिच्ने सवारीको नम्बर खोजतलास गरी यातायात व्यवस्था कार्यालयमार्फत गाडी धनीको विस्तृत विवरण लिइन्छ र कारबाहीका लागि महाशाखामा बोलाउने गरिन्छ।

महाशाखाले सिसी क्यामेराले क्याप्चर गरिरहेको दृश्य हेर्न छुट्टै कक्ष र छुट्टै कर्मचारीको व्यवस्था गरेको छ। सो कक्षमा कार्यरत कर्मचारी गोकुल पराजुलीका अनुसार २०७४ माघ २५ गतेबाट सिसी क्यामेराको सहयोगमार्फत कारबाही गर्न थालिएको हो।

ट्राफिक प्रहरी महाशाखाका अनुसार लाइन मिच्ने सवारीचालकहरू सुरुमा त मैले कहाँ लाइन मिचे भनेर झगडा गर्छन्, क्यामेराको फुटेज देखाइदिएपछि हेर्छन् र छक्क पर्छन् अनि खुरुक्क जरिवाना तिरेर जान्छन्।

उनले २०७४/०७५ मा पाँच सय ५१ सवारीचालकलाई नियन्त्रण गरी कारबाही गरिएको जानकारी दिए। त्यस्तै आर्थिक वर्ष २०७५/७६ साउनमा दुई सय ५६, भदौमा एक सय ८६, असोजमा दुई सय १८, कात्तिकमा एक सय ६१, मंसिरमा एक सय ४४, पुसमा एक सय ४६, माघमा एक सय ५०, फागुनमा एक सय ६०, चैतमा एक सय ५१ र वैशाखमा एक सय ६५ सवारीचालक कारबाहीमा परेका छन्।

तथापि पालना गर्नुपर्ने नियम थाहा हुदाँहुँदै पनि सवारीचालकहरू नियम मिच्न भने पछि हट्दैनन्। गाडी पार्किङ कहाँ र कसरी गर्ने, कुन लाइनबाट हिँड्ने, बाटो कसरी काट्नेलगायत व्यवहार चालकलाई सिकाउन नपर्ने कुरा हुन्। तर यिनै विषयमा जानीजानी गल्ती गर्दा चालकहरू कारबाहीमा परेका छन्। अगाडि प्रहरी देखिएन भने आफ्नै पारामा गाडी कुदाउन थाल्छन् चालकहरू। अनि जहाँ पायो त्यही गाडी रोक्ने, जहाँ मन लाग्यो त्यही यात्रु ओराल्ने, झार्ने गर्छन्। अधिकतर चालकहरू ट्राफिकको आँखा छल्न मात्र सिटबेल्ट लगाउने गर्छन्। यस्तै गल्ती गरेका र सिसी क्यामेराको सहायताबाट गत जेठ महिनामा मात्रै एक सय ४१ जना चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी पदमबहादुर विष्टले सिसी क्यामेराको प्रयोग उल्लेख्य मात्रामा प्रभावकारी भएको र नियम उल्लघंन गर्ने सवारीचालक कारबाहीबाट उम्किन नपाएको बताए। काठमाडौंभित्रका मुख्य चोकहरू जहाँ सवारीसाधनको बढी मात्रामा चाप हुन्छ, त्यस्तो ठाउँमा राखिएको सिसी क्यामेराको फुटेज महाशाखा आफैंले हेर्ने र अन्य ठाउँको फुटेज ट्राफिक प्रहरी कार्यालयले हेर्ने उनको भनाइ छ। ‘हामीले सिसी क्यामेरामा लाइन मिचेको देख्नेबित्तिकै यातायातबाट सवारीचालकको विवरण लिन्छौं र फोन गरेर एकछिन महाशाखा कार्यालय आउनुप¥यो भनेर सवारीचालकलाई डाक्छौं,’ उनले भने, ‘चालक आएपछि तपाईले लाइन मिच्नुभयो, जरिवाना तिर्नुपर्छ भनी तिर्न लगाउँछौं।सुरुमा त मैले कहाँ लाइन मिचे भनेर झगडा गर्छन्, क्यामेराको फुटेज देखाइदिएपछि हेर्छन् र छक्क पर्छन् अनि खुरुक्क जरिवाना तिरेर जान्छन्।’ महाशाखाका अनुसार काठमाडौंसँगै भक्तपुर, ललितपुर क्षेत्रमा पनि ट्राफिक व्यवस्थपन प्रभावकारी बनाउन महानगरपालिका र यातायात विभाग विभाग मिलेर थप ठाउँमा सिसी क्यामेरा जडान गर्ने तयारी गरिरहेका छन्।

‘मलाई महाशाखाबाट फोन आउँदा झसङ्ग भए, मलाई मैेले गल्ती गरेको पत्तै थिएन,’ जेठ महिनामा नियम उल्लघंन गरेको भन्दै कारबाहीमा परेकी मञ्जुदेवी निरौला आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘क्यामेराको फुटेज हेरेपछि मात्रै मलाई गल्ती महसुस भयो।’ उनी डिल्लीबजारस्थित विजयस्मारक स्कुलनजिकै रहेको एकतर्फी बाटोमा जाँदा सिसी क्यामेराको ट्र्यापमा परेकी थिइन्। उनले आफूलाई त्यो एकतर्फी बाटो हो भन्ने थाहा नभएर त्यता गएको बताइन्। आफूले गरेको गल्ती महसुस भएसँगै उनले महाशाखामा पाँच सय रुपैयाँ जरिवाना तिरेकी थिइन्।

दुई हप्ताअघि कालिकास्थान हुँदै एकतर्फी बाटोमा अघि बढ्ने क्रममा विकास थापा पनि सिसी क्यामेराको ट्र्यापमा परेका थिए। ‘म आफ्नै धुनमा काम गर्दै थिएँ, महाशाखाको कार्यालयमा आउनुप¥यो भनेर फोन आयो,’ उनले भने, ‘फोन राखेर म कार्यालय गएँ, फुटेजमा आफ्नै गल्ती देखेपछि जरिवाना तिरेर आएँ।’ उनले अबका दिनमा यस्तो गल्ती नगर्ने बताउँदै नेपालमा पनि यस्तो प्रभावकारी सेवा विस्तार भएकोमा खुसी व्यक्त गरे।

प्रकाशित: २१ असार २०७६ ०१:०६ शनिबार

ट्राफिक_प्रहरी सिसी_क्यामेरा नियम_उल्लघंन