समाज

धादिङमा वडा सदस्यमाथि गोली प्रहार, अवस्था चिन्ताजनक

धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ८ का वडा सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ। बेनिघाट रोराङको गोठीभञ्ज्याङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको बेला चेपाङमाथि गोली प्रहार भएको हो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए।

गोली लागेर गम्भीर घाइते भएका चेपाङलाई गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी आफैंले उपचारको लागि काठमाडौं लगेका थिए। घाइतेको अवस्था चिन्ताजनक रहेको अध्यक्ष डल्लाकोटीले बताएका छन्। 

रामजीलाई चितवनको राप्ती नगरपालिका वडा नं १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छन्। दुई महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा गोली हानेको हुन सक्ने परिवारजनले बताएका छन्। गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०७६ ११:३५ बिहीबार

गोली_प्रहार वडा_सदस्य धादिङ बेनिघाट_रोराङ_गाउँपालिका