समाज

ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ

काठमाडौँ-   राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ। पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको आज पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गरे।    
    
 यस्तै ‘पर्यटक प्रहरी मोबाइल एप’को पनि शुभारम्भ गरिएको छ। मोबाइल एपको शुभारम्भ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले गरे। कार्यक्रममा महानिर्देशक घिमिरेले पर्यटकमाथि ठमेल क्षेत्रमा हुने अपराधमा पर्यटक प्रहरीको सक्रियताका कारण कमी आएको बताए। “ठमेल क्षेत्रमा सिसिटीभीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न पर्यटन विभागले सहयोग गर्नेछ”, उनले भने। ठमेल क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि पर्यटक विभागले सहयोग गर्ने उनको भनाइ थियो।    
    
 महानगरीय प्रहरी कार्यालयका प्रमुख क्षेत्रीले प्रविधिमैत्री प्रहरी अहिलेको आवश्यकता रहेको बताए। नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक रहेको भन्दै सुरक्षा दिन नेपाल प्रहरी दृढ रहेको बताए । “नेपाल प्रहरी समुदायसँग सहकार्य गरेर उपत्यकाको सुरक्षा दिन दृढ छ, यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी आवश्यक छ”, उनले भने।    
    
 काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेलभित्र अस्तव्यस्तरूपमा रहेको तारले ठमेललाई कुरुप बनाउँदै लगेको भन्दै उक्त तार हटाउन महानगरपालिका लाग्ने बताए। महानगरीय पर्यटन सूचना केन्द्रको शुभारम्भसँगै ठमेलमा आउने पर्यटकलाई सहज हुने उनको भनाइ थियो।    
    
 ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले पर्यटकको सुरक्षामा पर्यटक प्रहरीको महत्व अझ बढेर गएको बताए। नेपाल घुम्न आउने अधिकांश पर्यटक ठमेल भित्रिने भएकाले पर्यटकको सुरक्षाका लागि उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिए।  नयाँ स्थापना भएको केन्द्रमा सहायता कक्ष, सिसिटीभी निगरानी, सेवाप्रवाहलगायतका सेवा प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ ।    रासस    

प्रकाशित: १८ असार २०७६ १०:०५ बुधबार

ठमेल महानगर सूचना पर्यटक