समाज

घुस लिएको आरोपमा सबइञ्जिनियर पक्राउ

बनेपा – शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सबइञ्जिनियर धनवीर भगतलाई घुस लिएको आरोपमा अख्तियारले कार्यालयबाटै पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सबइञ्जिनियर भगतलाई एक लाख ५० हजार घुस लिएको आरोपमा मंगलबार नियन्त्रणमा लिएको हो।

शिक्षा विभाग सानोठिमीमा दरबन्दी रहेका सबइञ्जिनियर भगतले मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको १७ वटा विद्यालयको मर्मत कार्यको अनुगमन गर्न काजमा काभ्रे आएका थिए।

घुस नलिई काम नगरिदिएको गुनासोपछि अख्तियारबाट एसपीको नेतृत्वमा काभ्रे आएको टोलीले  उनी र सहयोगी शिक्षाकै पूर्व कर्मचारी निरजकुमार चौधरीलाई पक्राउ गरेको हो।

चौधरीमार्फत् घुस रकम लेनदेन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले घुसबापत्को रकम आफ्नो बैंक खातामा जम्मा गराउन लगाएका थिए। सो भौचरमाथि पनि अनुसन्धान गर्दै उनीहरुको बयान लिने काम भइरहेको आयोगकाे भनाइ छ।

प्रकाशित: १७ असार २०७६ ०८:४८ मंगलबार

अख्तियार सबइञ्जिनियर घुस पक्राउ