समाज

तामाकोसीमा माछा घटे !

सिंगटी - नदी किनारका बस्ती र बजार क्षेत्रमा पहिलेको तुलनामा माछा अभाव हुन थालेपछि तामाकोसीमा माछा घट्नुको कारण खोजी गर्न थालिएको छ। केही वर्षअघिसम्म बाह्रैमास यो नदीमा माछा पाइन्थे। केही वर्षयता नदीमा डोजर प्रयोग, पहिरो साथै जलविद्युत् आयोजनाका कारण माछा घटेको आशंका छ।

गौरीशंकर संरक्षण क्षेत्र र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले नदीको सिंगटीदेखि माथिल्लो क्षेत्रमा नदीभित्र माछाको अवस्थाबारे खोजी गर्न थालेका छन्। संरक्षण क्षेत्रले च्छोरोल्पा हिमतालदेखि सिंगटीसम्म र वरपरका नदीनालामा माछाको अवस्था अध्ययन गर्न परामर्शदाता कम्पनीमार्फत विज्ञ टोली खटाएको छ। यस्तै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले लामाबगरदेखि जगतसम्म छुट्टै टोली खटाएर आयोजना क्षेत्रभित्र माछाको संख्या र अवस्थाबारे अध्ययन गरिरहेको छ।

दर्जन बढी जलविद्युत् आयोजना, डोजर लगाएर नदी दोहन, बेमौसमी बाढी, भूक्षय जस्ता कारणले माछालगायत जलचर संकटमा परेको आशंका

संरक्षण क्षेत्रभित्र जलचर संरक्षण कार्यक्रमअन्तर्गत माछाको अवस्था अध्ययन थालिएको आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए। ‘यो क्षेत्रमा पहिले निकै माछा पाइन्थे,’ उनले भने, ‘अहिले माछा मारेर जीविकोपार्जन गर्नेले समेत जालमा पर्नै छाडेको बताउन थालेका छन्।

यसै आधारमा संरक्षण क्षेत्रको कार्यक्रमअन्तर्गत नदीभित्र माछाको अवस्थाबारे अनुसन्धान सुरु गरेका हौं।’ शाहका अनुसार च्छोरोल्पाबाट सुरु भएको अनुसन्धानको पहिलो चरणमा १० दिन सिंगटी वरपरको क्षेत्रमा अध्ययन–अनुसन्धान चल्नेछ। ‘टोलीले ठाउँठाउँमा जाल हानेर हेर्दै बुझ्छ,’ उनले भने, ‘त्यसपछि माछा घटेको वा बढेको के हो वास्तविकता थाहा हुनेछ।’ शाहका अनुसार माछाको जात फेरिए कि पहिलेकै छन् भन्नेबारे समेत अध्ययन हुनेछ। नदीभित्र पाइने माछाको आहारा तथा अन्य किराको समेत अध्ययन हुनेछ।

सिंगटी, बन्चरे, नयाँपुल, किर्नेलगायत नदी किनाराका बजार क्षेत्र माछा पाइने ‘हब’ का रुपमा चिनिए पनि अहिले पहिले जस्तो माछा पाइन छाडे

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले समेत लामाबगरदेखि जगतसम्मको क्षेत्रमा माछाको अध्ययन गरिरहेको छ। आयोजनाका कारण नदीभित्रको जलचरलाई असर पुगेनपुगेको विषयमा माछाको संख्या यकिन गर्न लागिएको हो। ‘टोलीले अध्ययन प्रतिवेदन दिएपछि त्यसैका आधारमा माछा जोगाउन के गर्ने भनेर निर्णय लिन्छौं,’ आयोजनाको वातावरण विभाग प्रमुखसमेत रहेका प्रवक्ता डा. गणेश न्यौपानेले भने, ‘माछा घटेको देखिए आयोजनाको बाँधमा पानी थुनेपछि १२ लाख तथा दुई किलोमिटर लामो जलाशयमा असला माछाका पाँच लाख भुरा छाड्ने योजना छ।’

सिंगटीदेखि माथिल्लो भेगमा संरक्षण क्षेत्रभित्र निर्माण भइरहेका दर्जनभन्दा बढी विद्युत् आयोजनाका कारण जलचर संकटमा परेको हुनसक्ने संरक्षण क्षेत्र अधिकारीहरूको विश्लेषण छ। आयोजना बनेका अधिकांश स्थानमा निर्माण सामग्री निकाल्न नदीभित्रै डोजर हाल्ने, अनियन्त्रित दोहन गर्ने, नदी वरपर खनिएको सडक खण्डका कारण भूक्षय भएर पहिरो जाने हुँदा त्यसको प्रत्यक्ष असर माछालगायत जलचरमा परेका कारण संख्या घट्न थालेको विश्लेषण अध्येताको छ।

‘माछा सङ्लो पानीमा खेल्न मन पराउँछ,’ शाहले भने, ‘बेमौसमी बाढीका कारण पौडने ठाउँ नपाएर पनि माछाको संख्या घट्दै गएको हुनसक्छ।’ शाहले संरक्षण क्षेत्रभित्र निर्माण हुँदै गरेका आयोजनाहरूसँग समन्वय गरेर जलचर संरक्षणको कार्यक्रम ल्याइने जानकारी दिए।

दोलखाका सिंगटी, बन्चरे, नयाँपुल, किर्ने आदि नदी किनाराका बजार क्षेत्र माछा पाइने ‘हब’ का रुपमा प्रख्यात भए पनि ती बजार क्षेत्रमा अहिले पहिले जस्तो माछा पाइन छाडेको छ। माछा पाइन छोडेपछि यसको स्वाद चाख्न नदी किनारका बजारमा पुग्ने माछाका पारखी घट्न थालेका छन्।

प्रकाशित: १७ असार २०७६ ०१:१७ मंगलबार

तामाकोसी माछा जलविद्युत्_आयोजना