समाज

चन्दननाथ नगरपालिकाको बजेट अनिश्चित

चन्दनाथ नगरपालिका कार्यालय । तस्बिरः नागरिक

जुम्ला – चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट ल्याउन सकेको छैन। असार महिनाको १० गते वार्षिक नीति, कार्यक्रम र बजेट ल्याई सक्नुपर्ने प्रावधान छ। तर, चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाइ हुनुपर्ने माग गर्दै नगरकार्यपालिकाभित्र सदस्यहरूले आवाज उठाउन थालेपछि बजेट अनिश्चित बनेको हो।

असार १५ गते ३ बजेका लागि तोकिएको बजेट बहुमत सदस्यले नगरसभा बहिस्कार गरेपछि बजेट अनिश्चित भएको छ। जुम्लाको चन्दननाथबाहेक सबै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याइसकेका छन्। असार १० गते उपमेयर अप्सरादेवी न्यौपाने (महत) नेतृत्वमा कार्यपालिका सदस्यहरूको बहुमतले सार्वजनिक सुनुवाइको माग गरेका थिए। 

सार्वजनिक सुनुवाइ ऐन २०५५ र नियमावली २०५६ अनुसार सरकारी तथा गैरसरकारी निकायले अनिवार्यरूपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ। तर, चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ र आर्थिक वर्ष २०७५/७६ को समीक्षा गर्नुपर्ने मागसहित पाँच दिनका लागि नगरसभा रोकिएको थियो।

निरन्तर छलफल गरी असार १५ मा नगर सभा हुने भनिए पनि सार्वजनिक सुनुवाइका लागि प्रक्रिया पूरा नहुँदा अर्काे सूचना नभएसम्मका लागि नगरसभा स्थगित गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ। मेयर कान्तिका सेजुवालले तत्कालीन लेखा अधिकृत तीलबहादुर डाँगी सरुवा भएको र खर्च विवरण नभेटिएकाले सार्वजनिक सुनुवाइ गर्न ढिलाइ भइरहेको बताइन्। लेखा अधिकृत डाँगीलाई फोन गर्दा फोन नउठाउने गरेको उनको भनाइ छ।

चन्दननाथ नगरपालिका लेखापाल पूर्ण ठकुरीले पहिलेको लेखापालले बर बुझारथ नगरी गएकाले कुनै पनि खर्च विवरण आफूलाई थाहा नभएको बताए।

प्रकाशित: १६ असार २०७६ ११:१६ सोमबार

चन्दननाथ_नगरपालिका आर्थिक_वर्ष बजेट