समाज

भक्तपुर महोत्सव हुने

भक्तपुर – भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्यसहित भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सवको आयोजना गर्ने भएको छ।

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला र छलफल कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले महोत्सवको आयोजना गर्ने योजना रहेको बताए। महोत्सवको मिति भने तय नभएको उनले बताए।

भक्तपुर घुम्न आउने पर्यटकहरूको सुविधाका लागि पर्यटकीय क्षेत्रहरूमा स्तरीय शौचालय, हरियाली प्रवर्द्धलगायतका कार्यहरू गर्दै लाने योजना रहेको उनको भनाइ छ।

उनले पर्यटकहरूको बसाइँ लम्ब्याउनका लागि साँझको समयमा ठाउँठाउँमा सांस्कृतिक गतिविधिहरू सञ्चालनको व्यवस्था मिलाउने र सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना गरी सम्पदा क्षेत्र र पर्यटकीय स्थलहरूमा सन्ध्याकालीन बत्तीको बन्दोबस्त गरी थप आकर्षण बढाउने बताए।

भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशीले पर्यटन व्यवसायमा सांस्कृतिक संरक्षणको महत्वबारे प्रष्ट पार्दै भक्तपुर नगरपालिकाले स्थानीय युवाहरूलाई चिनियाँ, जापानी, अंग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालिम सञ्चालन गरिरहेको बताइन्।

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले महोत्सवलाई प्रभावकारीरूपमा सञ्चालन गर्न होटल–व्यवसायीहरूसँगको छलफललाई निरन्तरता दिइने बताए।

प्रकाशित: १६ असार २०७६ ०९:३५ सोमबार

भक्तपुर_महोत्सव पर्यटक भक्तपुर_नगरपालिका