समाज

८३ प्रतिशत आवास पुनर्निर्माण

ओखलढुंगा – आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा ओखलढुंगामा ८३ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। भूकम्प गएको चार वर्ष बितिसक्दा ८३ प्रतिशत मात्र निजी आवास पुननिर्माण भएका हुन्।

पहिलो किस्ता अनुदान लिएका २० हजार चार सय ७३ लाभग्राहीमध्ये ८३ प्रतिशतले भूकम्पप्रतिरोधी घर निर्माण सम्पन्न गरेका हुन्। दुई महिनाअघि मात्र ८१ प्रतिशतले निजी आवास पुनर्निर्माण सम्पन्न गरेको तथ्यांक जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले सार्वजनिक गरेको थियो।

पहिलो किस्ता लिएका २० हजार चार सय ७३ लाभग्राहीमध्ये १६ हजार ९ सय ३८ भूकम्पपीडितले तेस्रो किस्ता अनुदान पाइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख युवराज खरेलले बताए। प्रमुख खरेलका अनुसार भूकम्पप्रतिरोधी घर निर्माण गरिसकेपछि मात्र अन्तिम किस्ता अर्थात् तेस्रो किस्ता पाउने प्रावधान छ।

दोस्रो किस्ता लिएको १८ हजार आठ सय ७४ लाभग्राहीमध्ये एक हजार नौ सय ३६ लाभग्राहीले तेस्रो अर्थात् अन्तिम किस्ता लिन बाँकी छ। जिल्लामा कुल २१ हजार तीन सय ३८ लाभग्राहीमध्ये २० हजार ४ सय ७६ जनाले मात्र अनुदान सम्झौता गरेको कार्यालयले जनाएको छ।  १२ हजार ९ सय ९० जनाले कार्यालयमा पुनः सर्वेक्षणका लागि गुनासो गरेका थिए। जिल्लाका सम्पूर्ण तहमा पुनः सर्वेक्षणको काम भएको स्रोतले जनाएको छ।
 

 

प्रकाशित: १६ असार २०७६ ०२:४७ सोमबार

ओखलढुंगा ८३_प्रतिशत पुनर्निर्माण