समाज

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

काठमाडौं– दलित समुदायबाट पहिलो पटक कुमारी ज्ञानमाला रन्पाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छिन्। दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्मासँंगै कुमारी ज्ञानमाला रन्पाल सगरमाथाको शिखर चुम्न सफल भएकी हुन्। 

राजधानीमा पत्रकार सम्मेलन गर्दै दलित समुदायबाट सगरमाथा आरोहण गर्न सफल उनीहरुले विश्वको सर्वोच्च सिखर सगरमाथाको सफल आरोण गर्न पाएकोमा खुसी साटे। देशको गौरव मुलुकको सान दलितहरुको सगरमाथा आरोहण भन्ने मूल नाराका साथ आफूले सगरमाथा आरोहण गरेको उनीहरुले बताए। 

दलित समुदायकोतर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला कुमारी ज्ञानमाला रन्पालले आफू महिला भएको र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको मान्यतालाई चिर्न सगरमाथा आरोहण गरेको बताइन्। उनले सगरमाथा आरोहण गर्ने प्रेरणा सगरमाथामा पहिलो पाइला टेक्ने नेपाली महिला पासाङ ल्हामु शेर्पाबाट मिलेको जानकारी दिइन्। मृत्युुसँग पैठेजाेरी खेल्दै गरिएको आरोहणमा आफूले आफ्नो बुवालाई आश्चर्य चकित पार्न सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र आफ्नो बुवाको फोटो लिएर चुचुरोमा प्रदर्शन गरेको उनले बताइन्। समाजमा रहेको छुवाछुत र हेलाहोचोकाविरुद्ध पनि सगरमाथा आरोहण गर्दा दलित समुदाय र दलित महिलालाई हेर्ने दृष्टिकाणमा परिवर्तन आउने भएकाले आफू सगरमाथा आरोहण गर्न हौसिएको उनले सुनाइन्। सगरमाथाको आरोहणमा झण्डै आफ्नो दुई आँखा र हात गुम्न लागेको अवस्थाबाट आफू बचेको स्मरणसमेत उनले गरिन्। 

विभिन्न अफ्ठेरोहरुका कारण पनि २०७६ साल जेठ ९ गते विहान १० बजेर १० मिनेटमा सगरमाथाको चुचुरोमा नेपालीको सान खुकुरी प्रदर्शन र नेपालको राष्ट्रिय झण्डा फहराउँंदा आफूहरुलाई गौरव लागेको उनीहरुको भनाइ छ।

प्रकाशित: १४ असार २०७६ ०९:५२ शनिबार

सगरमाथा दलित_समुदाय कुमारी_ज्ञानमाला_रन्पाल आरोहण