समाज

विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन बिरामी

हेटाैंडा- मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ। तीन जना बिरामी परेका छन्।

जङ्गली च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको स्थानीयवासी धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिए। विषालु च्याउ खाएर तीन दिनदेखि बिरामी रहेका चेपाङ परिवारका चार जनामध्ये एकको मृत्यु भएको राक्सिराङ–७ का वडाध्यक्ष कुलबहादुर प्रजाले जानकारी दिए।

च्याउ खाँदा उनका ४५ वर्षीया बाबु डिबबहादुर चेपाङ, १८ वर्षीया दाई बच्चालाल चेपाङ र सात वर्र्षीय भाइ बाल्टा चेपाङ सिकिस्त बिरामी परेका प्रअ घलानले जानकारी दिए। घलानका अनुसार कक्षा ६ मा पढ्ने बुन्जीमायाको मृत्यु भएपछि मात्रै च्याउ खाएर बिरामी भएको घटना बाहिरिएको हो।

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने प्रयास भइरहेको र विकट भएकै कारण अस्पताल लैजान समस्या परेको वडाध्यक्ष प्रजाले बताए। ढिलोगरी जानकारी आए पनि घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए। रासस

प्रकाशित: १३ असार २०७६ १२:०८ शुक्रबार

मकवानपुर विषालु_च्याउ बिरामी मुत्यु