समाज

विमानस्थल निर्माणको लागि तत्काल रुख कटान अनुमति दिन निर्देशन

काठमाडौं– संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक रुख कटानका लागि तत्काल अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको  छ। शुक्रबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो।

डिपीआर हेरेर सो विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिए। त्यसैगरी समितिले सो विमानस्थलको केन्द्र भागमा रहेको टाङ्गिया बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको कामलाई अघि बढाउन वन तथा वातावरण मन्त्रालयबाट वन कटानका लागि अनुमति पाउन नसकेको समितिलाई जानकारी गराउनु भएको थियो। उनले सो विमानस्थलको कामलाई अघि बढाउने गरी जग्गाको मुआब्जा वितरणको कामलाई पनि अघि बढाएको बताए।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सो विमानस्थलको कामलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उहाँले सो विमानस्थलको डिपीआरको काम समेत सम्पन्न किन नगरेको ? भनि सरकारलाई प्रश्न पनि गरे।

बैठकमा समितिका सदस्यहरुले टाङगिया बस्तीको उचित व्यवस्थापन समेत अझै हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

प्रकाशित: १३ असार २०७६ ११:३७ शुक्रबार

संसदीय_समिति अन्तराष्ट्रिय_विमानस्थल_निर्माण रुख_कटान वन_तथा_वातवरण_मन्त्रालय