४–५ वर्ष अघिसम्म बाँके गाभरका अधिकांश युवा वैदेशिक रोजगारीका लागि भारत एवम् तेस्रो मुलुक पस्ने गर्थे। गाउँमा रोजगारीको माध्यम नहुँदा बाध्यता पनि थियो। जंगलले घेरिएको गाभर सुगम जिल्लाको दुर्गम ठाउँभन्दा पनि फरक थिएन। डाँडामा घर, एक घरदेखि अर्को घर नजोडिएको। साँच्चै पहाडकै झल्को दिन्छ। अझ रोचक त के भने त्यहीँ हिमाल, पहाड र तराईमा बसोबास गर्ने समुदायको मिश्रण बस्ती। चालचलननै फरक। त्यो गाउँमा पुग्नै कठिन। न सडक थियो न त आवश्यक परेका बेला एम्बुलेन्सनै जान सक्थ्यो। हरेक किसिमले पिछडिएको थियो गाभर। तर, अहिले भने त्यो अवस्था छैन। त्यही गाभर हो, जो ५ वर्षको अवधिमा कायापलट भएको छ। र, कायापलट गर्ने प्रमुख माध्यम बनेको छ होमस्टे।
गाभरका अनिल थापा आर्थिक जोहो गर्नकै लागि वैदेशिक रोजगारीमा गए। त्यताबाट फर्केर पुनः विदेश जाने तयारीमा थिए। ‘यता हल्लिएर केही हुन्न भनेर विदेश जाने अन्तिम तयारीमा थिएँ,’ होमस्टे नं. ५ का सञ्चालक उनले भने, ‘अहिले होमस्टेको अवधारणा आएपछि गाउँको मुहारनै फेरिएको छ।’
अनिलजस्तै कर्णराज रोकाया पनि विदेश जाने तयारीमा थिए। उनको भिसासमेत झरिसकेको थियो। गाउँमै आर्थिकोपार्जन गर्न सकिन्छ जस्तो लागेपछि उनले भिसा रद्द गरी होमस्टे सञ्चालन गरे। उनी होमस्टे नं. ४ का सञ्चालक हुन्।
गाभर भ्यालीमा सामुदायिक होमस्टे एउटा छ, जसमा ९ वटा घर समावेश छन्। त्यस्तै तीनवटा निजी होमस्टे रहेको छ। यी होमस्टेले मासिक एक लाखदेखि डेढ लाखसम्मको कमाइ गर्छन्। अहिले गाभर–च्यामा क्लस्टरका लागि पाँचवटा घर निर्माण हुँदैछन्।
कुनै दिन पिछडिएको क्षेत्रका रूपमा हेरिने गाभर भ्याली कायापलट हुनुको प्रमुख माध्यम हो, होमस्टे।
गुमनाम गाभर भ्याली अहिले पर्यापर्यटकीय आकर्षण बन्दै गएको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने गर्छ। यहाँ हिमालदेखि तराईसम्मका भेषभूषा, त्यस्तै प्रकारका परिकारको स्वाद र सांस्कृतिक रहनसहन रहेकाले पनि पर्यटकको संख्या बढ्दै गएको हो। गाभर भ्याली सामुदायिक होम स्टे २०७१ कात्तिक २३ गते पर्यटन कार्यालय कोहलपुरमा दर्ता भएर सञ्चालनमा आएको हो।
हिजोका दिनमा फुर्सदिला बनेका महिलाहरू अहिले घरधन्दाबाटै कमाइ गर्न थालेका छन्। पुरुषहरु वैदेशिक रोजगारीमा जाने र यहाँका महिला घरकै कामकाज सकेपछि फुर्सदिला हुन्थे। तर, अहिले घरधन्दा गरेरै भए पनि आर्थिक उपार्जन गरिरहेका छन्। ‘पाहुनाको स्वागत सत्कार र घरधन्दाबाटै आर्थिक उपार्जन गर्न सफल छौं,’ होमस्टे नं. ३ सञ्चालक अनुकुमारी थारुले भनिन्, ‘आर्थिक उपार्जन मात्रै होइन, नेतृत्व क्षमता विकास पनि भएको छ।’
होमस्टे सञ्चालकलाई मात्रै होइन, गाउँका अन्य स्थानीयलाई पनि यसले फाइदा पु¥याएको छ। गाउँमा फलाएका तरकारी बिक्रीका लागि बजार लैजानु परेको छैन। होमस्टेमा नै तरकारी, कुखुरा, दुना टपरी बिक्री हुने गर्छ। यसबाट स्थानीयले गाउँमै आर्थिक उपार्जन गर्न सफल भएका छन्। होमस्टेको सुरुवात भएसँगै यहाँ पुग्नका लागि सडक निर्माण भयो। हिजोका दिनमा गाभर भ्यालीको पहिचान थिएन, अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म आफ्नो पहिचान बनाउन सफल भएको छ।
बैजनाथ गाउँपालिका–१, चिसापानीमा अवस्थित गाभर भ्यालीको डाँडामा गोलाकार बस्ती, बीचमा खेतीयोग्य जमिन, एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरणले जोकोहीको मन लोभ्याउँछ। झन् चराहरुको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ। केही दूरीमै जंगली जनावरहरू देख्न पाइन्छ। रातमा विभिन्न जंगली जनावरहरू बस्ती नजिक पनि आउने गरेका छन्। गर्मीयामको सुरुवातसँगै गर्मी छल्नका लागि पनि गाभर भ्याली पुग्नेको संख्या बढ्दै गएको छ।
यहाँ थारू, मुगालीलगायतका होमस्टे सञ्चालनमा आएका छन्। बिदाका दिनमा होमस्टे खचाखच भरिन्छन्। पारिवारिक जमघटदेखि सानाठूला बैठक तथा कार्यक्रमहरु पनि होमस्टेमा भइरहेका छन्। होमस्टेमा पर्यटकको इच्छानुसार थारू नाच, देउडा नाच, पञ्चेबाजालगायतका नाच पनि देखाउने गरिन्छ। थारु खानाका परिकारमा ढिक्री, अनदीको भात, बरिया, कचालु, सिद्रा, सिंकी, घोंघी, गंगटा, परेवाको मासु, लोकल कुखुराको मासु, झिंगे माछा, निगार, अनदीको रोटीलगायत छन्। त्यस्तै मुगाली खानाका परिकारमा मकैको पुरी, कोदोको रोटी, जुम्ली मार्सी चामलको भात, कोदोको ढिँडो, सिस्नुको तरकारी, जडीबुटीको चिया, जडीबुटीको मसलालगायत छन्।
यहाँ पुग्ने हरेक पर्यटकलाई होमस्टेअनुसार थारु र मुगाली समुदायमा आधारित स्वागत सत्कार गरिन्छ। अर्गानिक खाना र आरामदायी बसाइँका साथै पारिवारिक आतिथ्यता दिइन्छ। बस्नका लागि शौचालयसहितका कोठा बनाइएको छ। परम्परागत शैलीको तालिम हलको व्यवस्था छ।
बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मेवार बाघ पर्यटनको गन्तव्य बनाउन सहयोग गर्ने मुख्य उद्देश्यले होमस्टे सञ्चालन गरिएको गाभर भ्याली होमस्टे एसोसियसन अध्यक्ष कृष्ण चौधरी बताउँछन्। साथै समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने, संरक्षण र पर्यापर्यटनबीचको सम्बन्धलाई जोड्ने, यस क्षेत्रलाई पर्यापर्यटनको प्रोडक्टका रुपमा विकास गर्ने उद्देश्य रहेको उनको भनाइ छ। होमस्टे एसोसियसनका केन्द्रीय सचिवसमेत रहेका उनले होमस्टेले सामुदायिक समृद्धि ल्याएको बताए।
रारा, मानसरोवर आवतजावत गर्न, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न र स्वर्गद्वारी दर्शन गर्न जाने पर्यटकका लागि बसोबासको रुपमा गाभर भ्याली विकास हुँदै गएको छ। शान्त वातावरण तथा कम खर्चमा जैविक खानपानसहितको बसोबासको रुपमा प्रयोग गर्न सकिने उनी बताउँछन्।
गाभर भ्यालीमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण हुने क्रम जारी छ। यहाँ अहिलेको आकर्षणको केन्द्रका रुपमा अष्ट्रिच फर्म पनि रहेको छ। त्यस्तै लायन्स जैविक पार्क अर्को मुख्य आकर्षण हो। २० बिघा क्षेत्रफलमा रहेको पार्कमा विभिन्न संरचना निर्माण भएका छन्। त्यस्तै थारु संग्राहलय, पिकनिक स्पट, चिल्डे«न पार्क, भ्याली एग्रो फर्म, कृषि अनुसन्धान केन्द्र पनि निर्माण भएका छन्। यसै गरी साइकल यात्रा, थारु हस्तकलालगायतका अन्य गतिविधि पनि हुँदै आएका छन्।
यसरी पुग्ने
कोहलपुर चौराहाबाट गाभर चोक ७ किलोमिटर छ। गाभरचोकबाट भित्र डेढ किलोमिटर पैदल वा अटो लिएर जान सकिन्छ। काठमाडौंबाट स्थल मार्ग हुँदै आउने पर्यटकका लागि कोहलपुर झरेर अटोमा गाभर चोक पुग्ने र डेढकिलोमिटरभित्र पैदल वा अटो लिएर पनि पुग्न सकिन्छ। त्यस्तै हवाई मार्ग भएर आउने पर्यटकले राँझास्थित नेपालगन्ज एयरपोर्टबाट अटो लिएर गाभर चोक पुग्न सकिन्छ। र, डेढ किलोमिटर अटो वा पैदलमा गाभर भ्याली पुग्न सकिन्छ।
गाभर भ्याली मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि यहाँको पर्यटकीय गतिविधि हुने भनेकै बाँके राष्ट्रिय निकुञ्जभित्र हो। यहाँबाट जिप सफारी, हात्ती सफारी, उपत्यका पदमार्ग,पर्यापर्यटन पदमार्ग, जंगल वाक, चुरे हाइक र संरक्षित क्षेत्रमा क्याम्पिङ पनि गर्न सकिन्छ।
बाँके निकुञ्जमा पाटेबाघ, हात्ती, चौका, हुँडार, सालक, निलगाई, चितुवा, चित्तल लगुना, रतुवा, बँदेल, बाँदर, सुनगोहोरो, अजिंगरलगायतका वन्यजन्तु पाइन्छन्। साथै विभिन्न चराचुरुङ्गी पनि पाइने गरेका छन्।